April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जन्मदिनको अवसरमा पालिका अध्यक्षद्धारा ह्वीलचियर हस्तान्तरण

4K

साकेला । साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले यस वर्षको जन्मदिन स्थानीय सरकारहरुमध्यकै अरु भन्दा फरक शैलीबाट मनाउनुभएको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकाहरुलाई विद्यालयमै पुगेर एलसिडी ट्याबलेट उपलब्ध गराई आफ्नो जन्मदिन मनाएका हुन् ।

आफूले पाएको सेवा सुविधाबाट अध्यक्ष राईले पालिकाका भित्रका २२ वटा बालविकास केन्द्रमा अध्ययनरत २२० भन्दा बढी बालबालिकाहरुलाई राईटिङ ट्याब्लेट उपलब्ध गराएका छन् । साथै बालबालिकासँग खुशी साटासाट गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । यसरी जन्मदिन मनाउने क्रममा अध्यक्ष राईले बुधबार आफ्नो जन्मस्थल र आफूले प्रारम्भीक शिक्षा सुरु गरेको चण्डेश्वरी आधारभूत विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत बालबालिकालाई एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराएका छन् ।

वडाअध्यक्ष हेमन राई, विद्यालयका प्रअ तथा शिक्षक, अभिभावकहरुसमेत उपस्थित कार्यक्रममा अध्यक्ष राईले आफूले पाउने सेवा सुविधाबाटै आफ्नो जन्मस्थलमा अवस्थित जहाँबाट आफूले प्रारम्भीक शिक्षा सुरु गरेको चण्डेश्वरी आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको बालकक्षा र अन्य भौतिक व्यवस्थापनको मर्मत र व्यवस्थापन गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

शिक्षा समृद्धिको जग भएको हुँदा शिशु तहबाटनै बालबालिकालाई आधुनिकतासँग जोडेर शिक्षा प्रदान गर्नुपर्ने धारणा अनुरुप बालबालिकालाई उक्त ट्याब्लेट उपलब्ध गराईएको अध्यक्ष राईले बताए । अध्यक्ष राईले भने, ‘शिक्षा समृद्धिको जग हो, जग बलियो भएन भने घर पनि बलियो हुँदैन । म सँग पैसा धेर भएर यो समाग्री वितरण गरिएको हैन, बालबालिकालाई शिशु अवस्थाबाट नै शिक्षाप्रतिको भावना उजागर गर्न र बच्चाको भविष्य सुधारको लागि सुरुवात गर्ने उद्देश्यका साथ एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराएको हुँ ।’

‘बालबालिकालाई प्रदान गरिएको यो ट्याब्लेट ठूलो हैन, सानो कुराले सकारात्मक कुराको थालनी हुने अपेक्षासहित बालविकास कक्षामा अध्ययनरत बालबालिकालाई समाग्री प्रदान गरिएको हो’, उनले थपे ।

अध्यक्ष राईले प्रविधिमैत्री शिक्षा प्रदानका लागि पालिका प्रयत्नशिल भएको बताए । अन्य बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई भने शिक्षा शाखा संयोजक कविराज राई मार्फत विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराईएको छ ।

अपाङ्गलाई ह्वीलचियर हस्तान्तरण
यसैबीच गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर परेर अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर हस्तान्तरण गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको पुनस्थापनाको लागि साकेला गाउँपालिकामा सहकार्य गरिरहेको करुणा फाउण्डेसनको सहयोगमा साकेला गाउँपालिका २ रतन्छा निवासी चन्द्रकला राईलाई अध्यक्ष राईले घरमै पुगेर ह्वील चियर हस्तान्तरण गरेका छन् । अर्का अपाङ्गता भएका सोही स्थानका ७ वर्षीय सृष्टि राईलाई पनि घरमै पुगेर ह्वील चियर हस्तान्तरण गरिने अध्यक्ष राईले बताए ।