हेटौंडा । राष्ट्रियसभा सदस्य पदमा बागमती प्रदेशबाट ४ वटै सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारहरू विजयी भएका छन् । महिला कोटातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल, अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत र अपांगता कोटाबाट माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भएका हुन् ।
बिहीबार सम्पन्न निर्वाचनमा ४ सिटका लागि ६ दलबाट १५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जसमा कांग्रेसले २, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका १÷१ जना उम्मेदवारले निर्वाचन जितेका हुन् ।
नतिजाअनुसार पुडासैनीले ६६२२ मतभारसहित विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् । दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल ६५१२ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।
यस्तै, अन्यतर्फ कांग्रेसका जितजंग बस्नेतले ६५३१ मतभारसहित विजय प्राप्त गर्दा उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् भने अपांगता कोटाबाट माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी ६४८३ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् ।