November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले भित्र ज्ञान र चिन्तनको संस्कृति हरायो: घनश्याम भुसाल

1.3K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली आफ्नो स्वार्थका निम्ति जस्तो सुकै कार्य गर्ने नेता भएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले भने, “आफ्नो स्वार्थका लागि मर्न, मार्न, संसद विघटन गर्न, पार्टी विभाजन गर्न, सबै हथकण्डा अपनाउने प्रवृत्तिको नाम हो केपी ओली।”

उनले अगाडि भने, “गरिबको नाम धनबहादुर, निरिहको नाम बलबहादुर भए जस्तै आज एमालेको हालत यस्तै नाम मात्र छ। आज एमाले ओलीतिर गयो। ओलीको मनमौजी, स्वछन्दतामा एमाले चलिरहेको छ। ओली आफ्नो स्वार्थका निम्ति सबै जायज ठान्छन्।”

Advertisement

महासचिव भुसालले एमाले भित्र ज्ञान र चिन्तनको संस्कृति हराएको बताए । उनले भने, “आज एमालेभित्र ज्ञान, चिन्तन, अहिलेको उकुसमुकुसबारे बहस गर्ने अवस्था छैन। राष्ट्रियताका बारेमा सोच्ने कुरा एमालेमा हराइसक्यो। चुनावदेखि चुनावसम्मवाला र ओलीलाई जिताएपछि सबै थोक बन्छ भन्नेवाला एमालेमा छन्। अर्को माओवादको टोपी लगाएको अर्को पार्टी छ। विचार, सिद्धान्त भनेकै १८ वर्ष पुगेकाले भोट हाल्न पाउने हो भन्ने बुझाइ भएको अर्को पार्टी छ। यस्तो उकुसमुकुस चिर्न र समाजवादतर्फ जानका लागि, रोजगारीका लागि, सुशासनका निम्ति प्रयास गरिरहेको पार्टी भनेको हाम्रै पार्टी हो।”

संगठनका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य सुदेश पराजुलीको अध्यक्षता एवं पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतित्थ्यतामा राजधानीको भृकुटिमण्डप स्थित आरआर क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।