काठमाडौं । यस बर्षको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९’ साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई प्रदान गरिने भएको छ ।गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समितिले हितानको उपन्यासलाई पुरस्कार दिने निर्णय गरेको हो ।
सङ्घले विसं २०७७ सालदेखि गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रत्येक वर्ष २ लाख नगद राशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएको छ ।
सोही क्रममा वि.सं २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्दै आएका साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय गरेको संघले जनाएको छ ।
पुरस्कृत कृतिलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्रसहित पुरस्कार प्रदान गर्ने भएको छ ।
संघले यसअघि पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’, चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई पुरस्कृत गरेको थियो ।