November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सबै किसिमका भ्रष्टाचारविरुद्ध दृढताका साथ उभिने छौँ: माधव नेपाल

1.4K

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै किसिमका भ्रष्टाचारविरुद्धमा दृढताका साथ उभिने बताए । बिहीबार पार्टीको राप्ती नगर कमिटी चितवनको भेलालाई  सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताएका हुन्  ।

अध्यक्ष नेलालले भने, “हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छौँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ ।” बिनापैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले भने, “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।” पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनका लागि सबै नेता र कार्यकर्ता गाउँटोलसम्म पुगेर जनताका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

अध्यक्ष नेपालले जनताको सङ्घर्षबाट नेपाल सङ्घीय लोकतान्त्रिक मुलुकका रुपमा अगाडि बढेको बताउँदै जनताका उपलब्धि खोस्ने छुट कसैलाई नभएको उल्लेख गरे  । “अब जनताका दिन सुरु भएका छन् । मधेशी जनताको छोरो राष्ट्रपति बन्नसक्ने अवस्था हामीले बनाएका छौं । नेपाली छोरी राष्ट्रपति बन्ने सुनिश्चित बनाएका छौँ । यो हामीले जनताको शक्तिको उपजमा प्राप्त गरेका हौँ,” उनले भने। 

आयोजक कमिटीका अध्यक्ष राम सेढाइँको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका उपमहासचिव गङ्गाराज तुलाधर, बागमती प्रदेश सदस्य सुमिता डल्लाकोटी, राप्ती नगरपालिकाका प्रमुख शमशेर लामालगायतले आ–आफ्नो धारणा राखेका थिए। 

भेलाले रामकृष्ण पण्डितको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।