दोलखा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने बताएका छन्। दोलखाको सदरमुकाम चरिकोटमा शनिबार नेकपा एकीकृत समाजवादी दोलखाको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले इतिहास बनिसकेको राजसंस्था फेरी फर्किएर आउन नसक्ने र जनताले समेत नपत्याउने बताएका हुन् ।
राजसंस्था फेरी फर्किएर आउने र साही साशन भोग्नुपर्ने अवस्था कुनै हालतमा सिर्जना नहुने उनको भनाई छ । अध्यक्ष नेपालले २ सय ४० वर्ष लामो राजतन्त्र र साही शासनले देश र जनताको हितमा के काम गर्यो ? भन्ने प्रश्नको जवाफ कसैसँग नभएको बताए ।
राजतन्त्रलाई फर्काउने र निरंकुश सत्ता चलाउने सपना लिएर सलबलाएका प्रतिगमनकारी तत्त्वहरूको भरमा नपर्न आग्रह पनि गरे । राजनीतिक दल र नेताहरुमा भएका कमीकमजोरीको समीक्षा गरी स्वस्थ आलोचना गर्न र सुधारका लागि अवसर दिनुपर्ने भन्दै नेता नेपालले राजनीतिक दल र नेताहरुवाटै समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भएका नेता नेपालले सडकमा जुलुस निस्किदैमा सरकार आत्तिनु पर्ने अवस्था नरहेको भन्दै सरकार, संसद् र सडकबाट सहयोग गर्न समाजवादी मोर्चा तयार रहेको बताए । २०६२/ ६३ को जनआन्दोलनमा राजसंस्था ढाल्ने विषयमा केही राजनीतिक दल हल्लिन खोजेर बेवि किङको प्रस्ताव आए पनि सबै एकजुट भएर निरंकुश सत्ताको अन्त्य गरी क्रान्ति सफल गरेको उनले स्मरण गरे ।
अध्यक्ष नेपालले दोलखाका स्वर्गीय नेता पशुपति चम्लागाईँको स्मरण पनि गरेका छन् । चौंलागाईको गृह जिल्ला दोलखा आएर नेता नेपालले पार्टीको हरेक सङ्कटमा साथ दिएको स्मरण गर्दै उनले देखाएको बाटोमा अविचलित अघि बढिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेकपा एकीकृत दोलखाका अध्यक्ष भीमप्रसाद दहालको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भूषाले, पोलिट्ब्युरो सदस्य शिवप्रसाद भण्डारी लगायतका नेताहरु, प्रतिनिधि सभा सदस्य एव नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवं बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
दोलखाको जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो ।