काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जसरी स्वास्थ्य शिक्षा अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले जुन ढंगले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताएका हुन् ।
मन्त्री बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको पनि बताएका छन् । ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको उनको भनाइ छ। उनले भने, ‘संशोधनका विषयमा प्रधानमन्त्री तयार हुनुहुन्छ । क्याबिनेटमासमेत अब यस विषयमा छलफल हुन्छ ।’ ऐन संशोधनका विषयमा दुई पटक बैठक बसिसकेको पनि उनले बताए ।
उनले चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको बताए ।
चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीका भरमा काम भइरहेको उल्लेख गर्दै उनले यसलाई थप गरेर अघि बढ्ने पनि बताए । ‘कुनै एक व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन पनि । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौं ।’ यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने उनले बताए। अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उनको भनाइ थियो ।
सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पताललाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने तथा तीन सय शय्याभन्दा बढी भएका अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको मन्त्री बस्नेतले जानकारी दिए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर स्वास्थ्य शिक्षा सञ्चालन गरिने उनले बताए ।