काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने बताएका हुन् ।
बिहीवार दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौंको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै ओलीले चेतना नै नभएका मुर्खले मात्रै राजतन्त्र मान्ने बताए । उनले भने, ‘केहीकेही तत्वहरु १५ वर्ष अघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्क, ब्याक्कदिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो । र, यो काम लाग्ने चिज नै होइन रहेछ । राजनीतिक रुपले, वैचारिक रुपले, सैद्धान्तिक रुपले, कुनै हिसाबले पनि राजतन्त्र, एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुन जन्मिने । अरुका छोराछोरीले मरिमेटेर काम गरेपनि हुन नपाउने । यस्तो अन्यायपूर्ण विचार बोक्नेहरु । मैले पटकपटक भने, फेरि चित्त दुखाउछन् मान्छेले । मैले बोल्दाखेरी भनेँ कित चेतनानै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् ।’
अध्यक्ष ओलीले एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए । ‘यो देशमा २० साल भन्दा अगाडिसम्म बाटो नबन्नुमा के कारण छ ? अनि विकास हुनै नसक्नु कारण के हो ? २४० वर्ष राजतन्त्रले खायो । अन्त शिक्षामा अगाडि, स्वास्थ्यमा अगाडि,विकासमा अगाडि, पूर्वाधारमा अगाडि सबै हुँदा पनि हाम्रो देशमा किन हुन सकेन ? जंगबहादुरको शासन आयो–१९०३ मा, त्यसको सात वर्ष पछि दरबार स्कुल पहिलोपटक खुल्यो । त्यो भन्दा अगाडि राजाहरुले किन खोलेनन्? नीति के थियो ? जनता पढाउने नीति थियो ? लोकतान्त्रिक नीति थियो ? होइन, अन्धकारमा राख्नुपर्छ भन्थे । कानून थिएन । म जे भन्छु, त्यही कानून हो भन्थे । अनि राजतन्त्रले के के न गर्यो भन्ने कहाँबाट हुन्छ ? सति प्रथा उन्मुलन गरेको राजतन्त्रले होइन । त्यति त बरु राणाले गरेका थिए । दास प्रथाको उन्मुलन राणाहरुले गरेको हो । अनि राजाले किन गरेनन् ? राजाले केही पनि गरेनन् । राजा भएर बस्ने, दुनियाँलाई दु:ख दिने । त्यो बाहेक के गरेँ राजाले ? अब त्यस्तो एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् ।’
ओलीले युवा संघ, नेपालको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको भन्दै धन्यवाद दिए ।’उनले भने, त्यस्तो बेलामा युवा संघले “हामी यहाँ छौ” भनेर छातिमा टाँसेर होइन, रातो टोपी लगाएर हामी यहाँ छौ भनेर मैदान उत्रेर जे गर्यो । म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । युवा संघले देश संकटमा परेको बेला संकटमा काँध थाप्ने हामी छौ है भनेर हिजो बोल्यो । धन्यवाद छ युवा संघलाई ।’
अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको भन्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए । कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको ओलीले बताए ।
अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए ।




