April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनले नेपालमा काेराेना खाेप भित्र्याउन सहयोग गर्ने ,सराेकारवाला सँग पहल सुरु

2.5K

काठमाडौँ – गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ठ खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा छलफल गरेको हो ।

भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघले विज्ञहरुको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उनले नेपाल सरकारसँगको सहकार्यमा कोभिड १९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको उल्लेख गरे ।

छलफलमा बोल्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले नेपाल सरकारले नेपालमा खोप लैजान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सकिने बताए।

Advertisement

कार्यक्रममा बोल्दै डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिए । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको उनको भनाइ थियो ।

उनले भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने बताए । उनले नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई सुझाव दिए । नेपालको आवश्यकता हेरेर मात्र खोप भित्राउनु पर्नेमा उनको जोड थियो।उनलेे नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने उल्लेख गरे ।