November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार: प्रधानमन्त्री

1.5K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार भएको बताएका छन्। विहीबार इन्द्र जात्राको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले जात्र–पर्वले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधता प्रतिविम्बत हुने बताएका हुन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘मुख्यतः काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आइएको ऐतिहासिक सांस्कृतिक पर्व हो। वर्षा र सहकालका इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने यो जात्रा लिंगो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्महरूसहित धुमधामपूर्वक मनाइन्छ। नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये यो पर्व सबैभन्दा पूरानो एवं रोमाञ्चकसमेत मानिन्छ।’

यस्तै, सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । देशको यही विविधतालाई आत्मसात गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली वहन गरेको उनको भनाइ छ ।

Advertisement

‘इन्द्रजात्राको यस ऐतिहासिक अवसरमा हाम्रो विविधताप्रति गौरवसहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार हो, संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा मिलोस्,’ प्रधानमन्त्रीले भनेका छन्।