१. उधौँली र उभौँली बीचको सम्बन्धमा
उधौँली र उभौँलीमा कुखुरा भोकदिने चलन थियो र आजसम्म छ । गाउँघरबाट अलि टाढा पूर्वदिशामा पूर्वै च्याङ्को थान थपना बनाई पूजा गरिँदा बिभिन्न च्याङहरू (प्राकृतिक देउहरू) पर्छन् । याक्खाले ‘पूर्खादेखि गरिल्याएका हौँ’ भनी बक्साउने तर कुल बोलाई बक्साएको भने देखिएको छैन । कुलहरू बोलाई भोग, अछेता, जाँड, धूप चढाउने बक्साउने चलन अवश्य थियो, तर पछि घरमा पाङच्याङ (मातृकुल), सराद (पितृकुल) हुने भएबाट यी दुवैलाई उधौँली उभौलीमा टाढा बिर्सिन गई अन्य च्याङहरू (शिकारी, वन, खोला, वायु, युमा, थेवा ईत्यादि नौवटा) लाई पूजा गरिने परम्परा आज देखिन्छ । युमा–थेवा, बुढी बोजु प्रयोग भएको तर बुढो बाजे प्रयोग भएको देखिन्न (शायद गालीमा पनि प्रयोग हुन भएबाट होला लोप भएको) । त्यसमा पनि मूल थलो बाहेकका बसोबासहरूमा कुखुराको फुल समेतको भोक दिन पनि छाडी, फलफूल धुपपाती, अछेता, पानी मात्र चलाएको देखिन्छ । यसरी मौलिकतामा काल कालान्तरमा परिवर्तित भएका छन् ।
२. आउने पुस्तामा संस्कृति हस्तान्तरण
घरघरमा मौलिक संस्कार र संस्कृतिको अभ्यास र चलन गरिनुपर्छ तब मात्र नयाँ पुस्ताले ग्रहण गर्नेछ । यसरी घरघरमा प्रचलनमा आउनलाई जानकारी र ज्ञान हुनु प¥र्यो तब मात्र सम्भव छ । यसकालागि सबैमा चाह र चेतना हुनसक्नु प¥र्यो । यसको लागि सम्बन्धित संस्थाहरूबाट सशक्त अभियान चलाई निरन्तर तालिम, कार्याशाला, गोष्ठी, अन्तक्र्रिया, अभ्यास गरिनु पर्छ । बिशेष कार्ययोजना बनाई सबै पीढी लक्षित कार्यक्रमहरू सञ्चालन गरिनु पर्छ ।
३. उधौँली उभौँली चाडको मौलिक पक्ष
यी दुवै विशुद्ध प्रकृतिमा आधारित पूजा र चाड हो । जसलाई एक परिवार भन्दा बढी समुदाय, समाजमा बर्षौनी मनाइने कार्यक्रम गरिन्छ त्यसलाई चाडभन्दा माथि पर्वको रुपमा लिईनुपर्छ भनी विद्वानहरूले परिभाषित गरेका छन् । यसलाई पर्वको रूपमा मानिने भनी किरात सम्बद्ध संस्थाहरूबाट पनि निर्णय भएको छ । यिनका मौलिकताको पक्षहरू बारे समयकालमा भिन्नाभिन्नै पनि मानिन सक्छन् तापनि वर्तमान कालभन्दा अघि गाउँका सबै मिलेर घरबाट अलग्गै थान बनाएर पशुपञ्छीको भोग दिई पूजा गरी प्रकृतिको बक्साई खाईपिई गरिने (याक्खाहरूमा नाँचिने गरिएको जानकारी छैन) चलन थियो । त्यो बेला ठूलो गाउँसमाजमा भने कुखुराको साथै, बाच्छा बाच्छीको भोग दिइने गरिन्थ्यो भन्ने कुरा सुनिन्छ । पूर्खौली ज्ञान, विज्ञान, पूर्खा सृजित अन्न (अछेता), भाकल, भोग समेत दिएर कुल समेतलाई बक्साउने, पूजागर्ने चलनबाटनै यस परम्परागत संस्कारको शुरूआत भएकोले, भोग दिनु, जाँड, अछेता, धूप, पाति दिनु चढाइनु मौलिकता हो । वातावरण मिलाएर एकदिन मरिनु पर्ने जीवले विना कष्टकर छिटै मारिएमा यसमा कुनै आपत्ति कुरो होइन । पाति (तितेपाति, भैरूङपाति) को कुरो आउँछ तर फूलको स्थान नभएको देखिन्छ, फलफूल चढाइनु, चलाइनु मौलिकता होइन ।
४. याक्खा समुदायको राजनैतिक पहुँच
यसमा धेरै कारणहरू छन् । एक प्रमुख कारणमा एकता नहुनु हो । एकता नहुनुमा कुनै संस्थागत परम्परा र विकास नहुनु हो । याक्खा समुदायसँग कुनै परम्पारिक गूठी, कुनै गाउँबुढाको चलन (नेवारको गूठी गूठीयार, थकालीको थकाली, थारू, धिमाल, माझी ईत्यादिको माझी, गाउँबुढा बिभिन्न चलन भएको) छैन । एककालमा समुदायलाई तालुकदारले शासकीय हिसाबले सम्हालेको देखिन्छ, त्यौ सामाजिक, सांस्कृतिक थिएन । याक्खाको प्रत्येक गाउँ, समाज, वंशमा एक संस्थागत नेतृत्वदायी व्यक्तिहरूको प्रचलन भएको भए निश्चय नै राजनैतिक पहुँचमा यस्तरी खुम्चनुपर्ने नौवत आउने थिएन । दोस्रो प्रमुख कारण बिभिन्न राजनैतिक पार्टीहरूका प्रभाव हुनु हो । अर्को प्रमुख कारण हो प्रतिस्पर्धी याक्खा व्यक्तित्वहरूमा चुनौतिका कुराहरू हुन् । राजनैतिक क्षेत्रमा अब्बल प्रतिस्पर्धीको रूपमा याक्खा राजनैतिक कर्मीहरूले आफूलाई उभ्याउन, टिकाउन नसकेको देखिन्छ । यसो हुनुमा वंश, समुदाय, समाजबाट सहयोग, आर्थिक अवश्था ईत्यादिको ठूलो भूमिका रहने भएकाले कठीन भएको देखिन्छ । यी पक्षहरूबाट उपयुक्त साथ सहयोग नपाउनुमा आर्थिक संरचना हो । याक्खा जातिको परम्परागत पेशा यही हो भन्ने छैन, कृषिको रूपमा मानिन्छ जुनबाट मध्य पहाडि भागमा बसोबास गर्ने एक जातिलाई आर्थिक उन्नति गर्न सम्भव छैन । अन्तर्जातीय बिहे, खम्बू राईसँग, लिम्बूसँग र अन्यसँग भएकोले संख्या र भावना विभाजित हुन गएको छ । याक्खा समुदायले यसका समाधानको लागि गूठीयार जस्तै वंशियारको संस्थागत विकास गरिनुपर्छ जसबाट सांस्कृतिक, आर्थिकको साथै राजनैतिक विकास गर्न सक्नेछ । निश्चित एक राम्रो दीर्घकालीन पेशालाई अवलम्बन समेत गरिनु पर्छ ।
५. स्थानीय तह, प्रदेश र संघमा याक्खाहरूको पहुँच बृद्धि
पार्टीलाई भन्दा जातिलाई प्राथमिकता दिनसक्ने अवस्था बनाउनको लागि प्रतिस्पर्धीमा खरो उत्रिन, उत्राउन सक्नुपर्छ । बेलामा जसले पनि राम्रो उपयुक्त ठानेको, मानेको व्यक्तित्वको रोजाइ हुने भएकोले यो सबैलाई लागू हुन्छ । यसको लागि समुदायसँग नजिक रहेर कार्य गर्ने, परिवक्व, व्यबहारिक, ईमान्दार व्यक्तिहरूको छनौट र तयार समयमै गरिनु, हुनु आवश्यक छ । एकदिनमा हुने कुरो होइन, समय लगाएर भद्रसहमतिमा यो काम गरिए पहुँचमा बृद्धि हुन धेरै सम्भव छ ।
६. याक्खा स्वायत्त क्षेत्र निर्माण सम्बन्धमा
याक्खा जाति सांस्कृतिक हिसाबले लिम्बू समुदायसँग नजीक र सामाजिक हिसाबले खम्बूसँग नजिक (भाषिक हिसाबमा बराबरी दूरीमा) देखिन्छ । खम्बूहरूका सामे जस्तै महिला र पुरूषको छुट्टाछुट्टै सामेत्लिङ हुने, कुललाई पूजा (सराद) गरिने, आमा, बोजुले ल्याएको कुलपूजा (पाङच्याङ) गरिने संस्कारहरू याक्खा समुदाय, समाजिक क्षेत्रमा छन् भने सांस्कृतिक पक्षमा बाख्रा खाने, च्याब्रुङ नाँच्ने, धान नाँच्ने, बिहे, मरिमराउमा गरिने संस्कारहरू लिम्बू जातिसँग मिलेको देखिन्छ । अब याक्खा जातिको मौलिक संस्कृति छुट्याईनु आवश्यक छ । उद्गमता र ऐतिहासिकतालाई हृदयंगम गरी सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक स्वायत्तताको लागि आजको संखुवा–सवा जिल्ला र धनकुटा जिल्लालाई लिन सकिन्छ । पूरै संखुवा–सवा किनभने लोहरूङ भाषालाई पनि याक्खा भाषा भनिने (एक भाषिकाको रूपमा लिनसकिने), धनकुटा क्षेत्रमा आठपरिया राईसँग पनि भाषागत रूपमा नजिक भएकोले यी दुवैलाई लिएर गए बेस हुने नत्र, संखुवा–सवाको पूर्वी–दक्षिणी भेग र धनकुटाको उत्तरी भेग मिलाएर याक्खा स्वायत्त क्षेत्र बनाईनु पर्छ ।