काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान आजदेखि सुरू भएको छ । बुधबार रोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट अभियानको शुभारम्भ गरिएको हो ।
अभियानको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले गरेका हुन् । खोप अभियानसँगै मन्त्री बस्नेतले आफ्नो जन्मदिन पनि मनाएका छन् ।
यस अभियान अन्तर्गत सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’ का रूपमा दिइने छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ ।
खोप अभियान अन्र्तगत आज ६ प्रदेशका ६ अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइनेछ ।
आज बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ ।
खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।