लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् । गुरुङ सन् २०२३-०२५ कार्यकालका लागि निर्वाचित भएका हुन् ।
आइतबार मध्यरात सम्पन्न अनलाइन मतदान अनुसार गुरुङले १४७९ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कंडेलले ९०५ मत ल्याएका छन् ।
त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री र दुई उपाध्यक्षमा रविन्द्र कंडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् ।
संघको महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन् । उनले १५८१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बालकृष्ण भुषालले १५३७ मत प्राप्त गरे ।
यस्तै, सहकोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित भएका छन् भने युवा संयोजकमा सुजित शाही निर्वाचित भएका छन् ।
आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित भएका छन् ।
स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डे निर्वाचित भएका छन् । पाण्डेले २४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उज्ववल कार्की ५ मतको झिनो अन्तर २४० मतसहित पराजित भएका हुन् ।
यस्तै, इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी सन्तोषकुमार सुवेदी ८५८ मत प्राप्त गरेका छन्।
एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको शपथ आइतबार हुने कार्यक्रम छ ।