April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेश स्तरीय कविता प्रतियोगिताको प्रथम पुरस्कार बैरागीको ‘प्रिय पत्रकार’ लाई

4K

काठमाडौं । लुम्बिनी प्रदेश स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । पश्चिम नवलपरासी बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित उक्त प्रतियोगितामा रोल्पाका कवि टंकबहादुर झाक्री मगर “समीप बैरागी” प्रथम भएका छन् ।

प्रतियोगितामा कपिलवस्तुका शिशिर बन्जाडे दोस्रो र नवीन अभिलासी तेस्रो भएका थिए भने पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन् ।

प्रतियोगिताका प्रथम कविले नगद २५ हजार र प्रमाणपत्र, दोस्रो कविले नगद २० हजार र प्रमाणपत्र, तेस्रो कविले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । सान्तवना पुरस्कार नगद १० हजार र प्रमाणपत्र रहेको थियो ।

Advertisement

आयोजकका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट ५१ वटा कविताले प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये २५ जना कवीहरुले आफ्नो कविता प्रस्तुत गरेका थिए। प्रतियोगिताका मूल्याङ्कनकर्ता श्याम प्रसाद न्यौपाने, कबिराज पौडेल र टिकाराम उसासी मगर रहेका थिए ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि गोष्ठीका संयोजक हुमनाथ आचार्यले स्वागत र संचालन सदस्य सचिव वामदेव अधिकारीले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले साहित्य समाजको दर्पण रहेको बताए । उनले भने, ‘साहित्यबिना समाज विकास हुन सक्दैन । समाज बिकास नभएसम्म देश विकास हुन सक्दैन । तसर्थ देश बिकास हुनका लागि साहित्यको बिकास हुनुपर्छ ।’

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठाले लुम्बिनी प्रदेशका कबिहरुलाई नगरमा ल्याई कविता प्रतियोगिता र कवि गोष्ठी गरेर नगरले थप उचाई हासिल गरेको बताए। त्यस्तै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले साहित्य समाजको ऐन मात्र नभइ समाज परिवर्तनको सम्बाहक रहेको बताए ।

को हुन् कवि समीप बैरागी ?

थबाङ गाउँपालिका ३ मिरुलका कवि समीप बैरागी स्थापित कवि हुन् । राष्ट्रिय कविता महोत्सव-२०८० को उत्कृष्ट १० मा पर्न सफल उनले जिबसिम (नव साहित्य पुरस्कार – २०२१), मगर खाम कविता प्रतियोगिता (प्रथम पुरस्कार-२०७३), मगर खाम कविता प्रतियोगिता (प्रथम पुरस्कार -२०७५) लगायतका पुरस्कार जितिसकेका छन् ।

प्राय: मजदुरुको जीवन भोगाइलाई कवितामा उतार्ने उनी आफ्नै मौलिक कथा लेख्न रुचाउछन् । उनका मातृभाषाका पुस्तक तथा गजलसंग्रहहरू प्रकाशित छन् । ‘हुरीले उडायो सुनौलो सपना’ (गजलसंग्रह -२०७०), ‘सीमावारि सीमापारि’ (संयुक्त गजलसंग्रह -२०७१), ‘समकालीन रोल्पाली मुक्तक’ (प्रतिनिधि मुक्तकसंग्रह -२०७१), ‘जिन्दगीला यम’ (मुक्तकसंग्रह – २०७२), ‘कोसेली’ (संयुक्त मुक्तकसंग्रह – २०७२), ‘अमर साइनो’ (संयुक्त गजलसंग्रह – २०७२), ‘मगर खामला कवि सन कवितार’ (प्रतिनिधि कवितासंग्रह -२०७३), ‘हुरो युङ’ (खण्डकाव्य-२०७४) लगायतका उनका एकल तथा संयुक्त कृतिहरू प्रकाशित छन् । ‘अब मगर खाम भाषाबाट छिट्टै एउटा हाइकु संग्रह आउँदैछ ।’, उनले जानकारी दिए ।

पढ्नुहोस्, प्रथम हुन सफल समीप बैरागीको कविता ‘प्रिय पत्रकार !’
~~~~

प्रिय पत्रकार !
म त सहर भन्दा सुदूर
दुर्गम बस्तीको कवि हुँ ।

शिरमा बाँधेर – हिउँको पगरी
मुस्कान बाँड्ने गाउँको छातीमा
थुप्रै – थुप्रै दर्दहरू छन्
र, छन् –
हरेक कालखण्डका थुप्रै – थुप्रै घटनाहरू ।

कोरेको छु –
जीवनको लय खोज्न
बादलका पहाडहरू चिर्दै – चिर्दै
गाउँ छाडेर
उडि जाने चराहरूको वियोगान्त
र, कोरेको छु –
तुइनमा झुण्डिएर विद्यालय जाने
कलिला मुनाहरूको मीठो सपना ।

कोरेको छु –
काँध माथि बिरामी बोकेर
खाल्टाखुल्टी बाटोमा
मौसमको आँसु पिउँदै हिँड्ने
बहादुर कुर्कुच्चाहरूको गाथा
र, कोरेको छु –
मेरा पुर्खाहरूको कहालिलाग्दो जीवनी ।

प्रिय पत्रकार !
परबाट सुन्नु भन्दा फरक रहेछ भोग्नु
म स्वयमले
सुम्सुम्याइरहेछु दु:खका चाङहरूलाई ।

कोरेको छु –
नाङ्गा पैतालाहरूले हरेक भूगोलहरूचुम्दै
नुन बोक्न हिँडेकाहरू
हैजाले उतै अस्ताएको हृदयविदारक कथा
र, कोरेको छु –
जंगलमा घाँस, दाउरा गर्दागर्दै
बच्चा जन्माउने आमाहरूको प्रसववेदना ।

कोरेको छु –
समाज र जीवनको प्राण भर्ने – प्रेमिल भाकाहरू
संस्कार, संस्कृति र भेषभूषाहरू
र, कोरेको छु –
भुँइमान्छेहरूको आवाज
दियो कुरि बसेका आँखाहरूको आशा ।

कोरेको छु –
हुरीको आवेगले उजाडिएको झुप्रो भित्र
मुस्कान पर्खिरहेका ओठहरूको माग ।
र, कोरेको छु –
समयको जोखना हेरेर
आकाशे खेती गर्न आउने
दुर्लभ प्राणीहरूको दोहोरो चरित्र ।

प्रिय पत्रकार !
साँच्चै यस्तो कविता
रङ्गिन सहरबाट प्रकाशन हुने
ठूलो अखबारमा छापिन्छ कि छापिदैन ?