एजेन्सी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गएको मंगलबार (२० जुन)मा दिल्लीको जगन्नाथ मन्दिरमा पूजा गर्दा खिचिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहस चलिरहेको छ। दिल्लीको हौज खासस्थित उक्त मन्दिरमा राष्ट्रपति मुर्मूले दर्शन गरेको एउटा तस्बिर चर्चाको केन्द्रमा रहेको हो ।
उनी आफ्नो ६५औं जन्मदिन र जगन्नाथ रथ यात्रा २०२३ को मौकामा त्यहाँ पुगेकी हुन्। उनले त्यहाँ पूजा गरिरहेको तस्बिर राष्ट्रपतिको आधिकारिक ह्यान्डिलबाट सार्वजनिक भएको थियो। उक्त ट्विटर ह्यान्डलबाट उनले रथयात्रा सुरु भएकोमा बधाई समेत दिएकी थिइन्।
अहिले सामाजिक सञ्जालमा राष्ट्रपति मुर्मूका साथै केन्द्रीय मन्त्री अश्विनी वैष्णव र धर्मेन्द्र प्रधानको तस्बिर समेत जोडेर चर्चा हुन थालेको छ। जहाँ मुर्मूले मन्दिरको बारबाटै दर्शन गरेकी छिन् भने वैष्णव गर्भगृहमै पुगेर पूजा गरिरहेका छन्। फरक–फरक समयका तस्बिर भए पनि जातीय र लैंगिक विभेदका कारण मुर्मूले गर्भगृह प्रवेश नपाएको धेरै भारतीयले बताइरहेका छन्।
सामाजिक सञ्जालमा सोध्न थालिएको छ– अश्विनी वैष्णव र धर्मेन्न्र प्रधान जब गर्भगृहमा गएर पूजा गर्न सक्छन् भने राष्ट्रपति मुर्मू किन सक्दिनन्?
भारतका वरिष्ठ पत्रकार दिलिप मण्डलले द्रौपदी मुर्मू र केन्द्रीय मन्त्री धर्मेंद्र प्रधानको तस्बिर राख्दै लेखेका छन्, ’दिल्लीको जगन्नाथ मन्दिरमा केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान भित्र जान सक्छन्। मूर्ति छोइरहेका छन्। तर चिन्ताको कुरा यो हो कि यही मन्दिरमा राष्ट्रपति मुर्मू, जो भारतीय गणराज्यकी पहिलो नागरिक हुन्, उनलाई बाहिरबाट पूजा गराइँदैछ।’
उनले पूजारीमाथि कारबाहीको माग समेत गरेका छन्। राष्ट्रपतिमाथि भारतीय मन्दिरमा भइरहेको विवाद पहिलो होइन। यसअघिका राष्ट्रपति रामनाथ कोबिंदले समे मन्दिरमा दुर्व्यहार भोगिसकेका छन्। उक्त समयमा राष्ट्रपति कार्यालयले नै असन्तुष्टि जाहेर गरेको थियो तर मन्दिरका कुनै अधिकारीमाथि कारबाही भएन।
कोबिंद दलित समुदायबाट प्रतिनिधित्व गर्छन्। सन् २०१८ मार्चमा जब उनी राष्ट्रपति थिए, उनीमाथि पुरीको प्रसिद्ध जगन्नाथ मन्दिरमा दुर्व्यहार भएको थियो।
२० मार्च २०१८ मा राष्ट्रपति कोबिंद र उनकी श्रीमति जगन्नाथ मन्दिर गएका थिए। उक्त मन्दिर भ्रमणका क्रममा मूर्तिसम्म पुग्न रोकिएको थियो। ढोग्न जानै लाग्दा मन्दिरका ’सेवक’ राष्ट्रपतिको शरीरसँग टाँसिएर बसिरहेका थिए। यसैगरी राष्ट्रपति पत्नीलाई समेत अघि बढ्न नदिन सोही हर्कतमा उत्रिएका थिए।
राष्ट्रपति कोबिंदले पुरी छाड्नु पहिले नै जिल्लाधीश अरविन्द अग्रवाललाई उक्त हर्कतलाई लिएर आफ्नो असन्तुष्टि जाहेर गरेका थिए। राष्ट्रपति कार्यालयले पनि असन्तुष्टि प्रकट ग¥यो। तर मन्दिर व्यवस्थापन समितिले अनदेखा ग¥यो। र, त्यस्तो हर्कत गर्ने कोही पनि कारबाहीको भागिदार बनेनन्।