काठमाडौं–सर्वोच्च अदालतमा विचाराधीन नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ तत्काल नहुने देखिएको छ। कोरोना महामारीका कारण सर्वोच्चले सबै मुद्दाको सुनुवाइ गर्न नसक्ने भन्दै नेपाल बार एशोसियसनका पदाधिकारीसँग छलफल गरेकाले गौतमको मुद्दाको सुनुवाइ पुनः सर्ने देखिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार यसै विषयमा बारका पदाधिकारीसँग छलफल गरेका थिए। गौतमको मुद्दा यही कात्तिक २६ गते पेशी रहेको छ। प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश संलग्न रहेको संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको गौतमको मुद्दा दसैंअघि बहस नसकिएपछि सुनुवाइ सरेको थियो।
बर्दियाबाट पराजित भएका गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। दोस्रो सुनुवाइका क्रममा रहेको मुद्दाको सुनुवाइ सर्दै आएको छ। एकल इजलाशले गौतमलाई थप सवैधानिक जिम्मेबारी नदिनु भनेकाले उनको मन्त्री बन्ने र सांसदको रुपमा काम गर्ने विषयमा विवाद भएको थियो।
गौतमविरुद्धको मुद्दा असोज १४ गते संवैधानिक इजलासमा पहिलो पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलाशमा गौतमको मुद्दा पहिलो नम्वरमा रहेको थियो। प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको थियो।
उक्त मितिपछि दुई पटक गौतमको मुद्दामा बहस भएको थियो। निवेदक, सरकारी वकिल र गौतम पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। गौतम पक्षका केही कानुन व्यवसायीले बहस गर्न बाँकी रहेको समयमा सुनुवाइ हेर्दाहेर्दै रहेको थियो। त्यही बेला सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि दसैंअघि सुनुवाइ रोकिएको थियो। कात्तिक १ गतेदेखि अदालत बन्द भएपछि गौतमको सुनुवाइ अन्योलमा परेको थियो।