April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित, विश्वकपमा पुग्ने संभावना सकियो

1.6K

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलमा नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको छ । पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ ।

शनिबार जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भएको थियो। नेपालले प्रस्तुत गरेको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो ।

खेलमा नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे । ७५ बल खेल्दै ओडाउटले ८ चौका र ४ छक्काको मद्दतले ९० रन बनाए । उनले पहिलो विकेटका लागि विक्रमजीत सिंहसँग ८६ रनको साझेदारी गर्दै जीतको आधार खडा गरेका थिए ।

Advertisement

नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरे । त्यसैगरी लामिछानेले वेस्ली ब्यारेसीले ३ रनमा आउट गरे । ओडाउटले ३० बलमै ५० रन पूरा गरेका थिए । नेदरल्यान्ड्सका लागि वास डे लिडेले नट आउट ४१ रन प्रहार गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७–२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डि लिड्स र बिक्रमजित सिंहले दुईदुई विकेट हात पारे ।

खेलका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।