काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको बताएका छन् । शुक्रबार आयोजित नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिक साधारण सभामा बोल्ने क्रममा उनले निश्चित समूहले फाइदा लुटेको बताएका हुन् ।
अर्थमन्त्री डा.महतले भने, ‘आगामी वर्षको आय/व्यय विधेयकमार्फत साना लगानीकर्तालाई समस्या पार्ने लक्ष्य होइन, यसलाई विपरित हल्ला फैलाएर निश्चित लगानीकर्ताले ५६ लाख लगानीकर्ता करको दायरामा आउने भए, बर्बाद भयो भन्ने विषय प्रचार गरे । यसबाट ५६ लाख लगानीकर्ताको संख्या देखाउँदै निश्चित समूह नै फाइदामा छ ।’
सेयर बजार र सम्पूर्ण लगानीमा नै पारदर्शिता जरुरी छ । त्यसैले नियमनका कामलाई दृढताका साथ निर्वाह गर्नपर्ने अवस्था छ,’ मन्त्री महतले भने, ‘सेयर बजारमा सिमित मान्छेहरुले मात्रै चलखेल गर्ने काम भइरहेको छ ।’ निश्चित लगानीकर्ताको इशारामा सेयर बजार तलमाथि गर्ने काम भइरहेकोसमेत अर्थमन्त्री डा.महतले बताए ।
निश्चित लगानीकर्ताको चलखेलका कारण आम लगानीकर्ता यसको लाभबाट बञ्चित भइरहेको बताउदै अर्थमन्त्रीले भने, ‘यस्तो स्थितिको अन्त्य हुन जरुरी छ ।’ आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर बजारको विषयमा लेखिएको विषयलाई समेत तोडमोड गरिएकोमा अर्थमन्त्रीले असन्तुष्टि पोखे ।
यस्तै, उनले लगानीकर्ताको सुरक्षा सुरक्षित गर्नु धितोपत्र बोर्डको दायित्व र जिम्मेवारी भएको समेत बताएका छन् । त्यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्ने र गरिरहेको बताएका छन् ।