काठमाडौं । प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलकी हशिवुन निशा रहेकी छन् ।
प्रहरीका अनुसार निशाले भारतीय नागरिकसँग मिलेर बिहीबार मध्यराति श्रीमान्को हत्या गरेको रहस्य खुलेको छ । २९ वर्षीय अब्दुल नसिम खाँलाई मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि खेतमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हत्या भएका व्यक्तिको श्रीमती हशिवुन भारतमा सँगै पढेका साथी हुन् । उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । आफ्ना क्रियाकलापका बारेमा श्रीमान्ले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको प्रहरीले अनुसन्धानमा खुलेको छ । हत्यापछि हशिवुनले आफ्ना श्रीमान् बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । तर अनुसन्धान गर्दै जाँदा आफैंले श्रीमान्को हत्या गरेर आफैंले प्रहरीको उजुरी दिन आएको तथ्य खुलेको हो ।
उनले आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।