रौतहट । मलेसियामा मृत्यु भएका रौतहटका एक यूवकको परिवारलाई जिएस समाजसेवा युवा क्लब मलेसियाले आर्थिक सहयोग गरेको छ । छातीको समस्याका कारण गत मार्च २९ तारीखमा मृत्यु भएका रौतहट यमुनामाई गाउँपालिका ४ सरुअठाका नरेश रामको परिवारलाई सँगै काम गर्ने सहकर्मी नेपालीहरुले मृतक परिवारलाई आर्थिक सहायता गरेका हुन् ।
२२ वर्षीय नरेस राम ४ वर्ष पहिले मलेसिया पुगेका थिए । पैसा कमाउने मलेसिया पुगेका उनको उतै मृत्यु भएपछि मृतकको परिवारलाई जीवन यापनका लागि सहयोग होस् भन्ने उदेश्यले मलेसियामा बस्ने नेपालीहरुले चन्दा संकलन गरी नेपाली रुपैयाँ ११ लाख ४५ हजार ८ सय ८० रुपैयाँ जिएस समाजसेवा युवा क्लब मलेसियामार्फत सहयोग रकम पठाएका थिए ।
सो रकम मृतकका बुवा माधोराम र आमा मिनादेवी रामलाई नेपाल पत्रकार महासंघ रौतहट सभापति प्रेमचन्द्र झाको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि महासंघ रौतहट सभापति झाले भने, ‘संगठनमा नै शक्ति हुन्छ । थोरै–थोरै रकम संकलन गरेर मृतक परिवारको लागि सहाराको रुपमा जिएस समाजसेवा युवा क्लब खडा भएको छ । ज–जसले रकम संकलन गरेर पीडित परिवारको पीडामा मल्हम लगाउने काम गर्नुभयो, ती सबै महान हृदयहरुलाई धन्यवाद ज्ञापन गर्दै अभार प्रकट गर्छु । यसको जति प्रशंसा गरेपनि कमै हुन्छ ।
कार्यक्रमलाइ समापन गर्दै क्लबका वरिष्ठ उपाध्यक्ष मिथुन विराजी यादवले अहिलेसम्म जिएस समाजसेवा युवा क्लब मलेसियाले यस्तै परिवारहरुलाई १ करोडको हाराहारीमा आर्थिक सहयोग गरिसकेको जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रमा सो वडाका वडाध्यक्ष अश्विनी कुमार यादव, सहयोग पठाउने आयोजक संस्थाका उपाध्यक्ष विजय जयसवाल, मिथुन विराजी यादव, दिनेस जयसवाल भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झासहितका पत्रकार स्थानीय भद्रभलामीहरुको उपस्थिति रहेको थियो ।
मुकेश यादवले सञ्चालन गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष बिजय यादवले स्वागत मन्तव्य राखेका थिए ।