लण्डन। ‘नेप्लिज ब्रिटिश कम्युनिटी’ (एनबीसी) यूके उत्कृष्ट च्यारिटी संस्थाको रुपमा सम्मानित भएको छ । स्टानवेलस्थित भिलेज हलमा सम्पन्न अनलाइन समाचार पोर्टल ‘नेपाल ब्रिटेन डटकम’को १६ औं वार्षिकोत्सवको समारोहबीच एनबीसी यूकेलाई ‘उत्कृष्ट च्यारिटी संस्था’को रुपमा सम्मान गरिएको हो ।
आइतबार सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राज ओझा लगायत संस्थाका सदस्यहरुलाई अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । अवार्ड तथा प्रमाणपत्र बेलायतका लागि नेपाली राजदूत, ज्ञानचन्द्र आचार्यले वितरण गरेका थिए ।
एनबीसी यूकेले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । यश संस्था सन् २०१० मार्च ६ मा स्थापना भई सन् २०१६ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको हो ।
संस्थाले चितवनको कान्दास्थित चेपाङ बालबालिकालाई अध्ययन र बासका लागि भवन निर्माण, सर्लाहीमा द्धन्द्ध पीडित बालबालिकाका लागि भवन निर्माण सहयोग, दाङमा दृष्टिविहीन विद्यार्थीका लागि पाठ्यपुस्तक तथा खानपान व्यवस्थापनमा सहयोग, लमजुङका विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक र जाडोमा लगाउने न्यानो कपडा वितरण, महाभूकम्प पीडितलाई सहयोग, सप्तरीका बाढी पीडितलाई राहत, बेलायतमा बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन, कोभिड १९ का बेला ज्येष्ठ नागरिकका लागि सचेतनामूलक कार्यक्रमसहित ट्याब्लेट वितरण, लाइन्स क्लव अफ दियालो नारायणगढमार्फत ७८३ बिरामीको आंखा उपचारमा सहयोग, पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिकालाई सहयोग जस्ता कयौं च्यारिटी काम गरिसकेको छ।