चितवन । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाली सेना मध्य पृतना हेडक्वार्टरको संयोजनमा नारायणी नदी किनार देवघाटमा ‘जल उद्धार संयुक्त अभ्यास’ कार्यक्रम सम्पन्न भएको छ ।
बिहीवार सम्पन्न उक्त कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद्काे मुख्य कारण मान्छे भएको बताए । उनले भने- `मान्छेले प्रकृतिमाथि गरेको अत्याचारविरुद्ध प्रकृतिले गर्ने विभिन्न प्रतिक्रिया नै विपद् हो । हामीलाई तीव्र विकास चाहिएको छ। तर हाम्रो विकासको मोडल वातावरण मैत्री नहुँदा विकासले सँगसँगै विनाश पनि निम्त्याइरहेको छ । केही दशकदेखि मौलाएको डाेजरे विकास नै विपद्को एक मुख्य कारण हो । त्यसैले विपद् बाट बच्न र बचाउनका लागि डोजरे संस्कृति बन्द गर्नैपर्छ ।´
मन्त्री श्रेष्ठले विपद्को अर्को कारण भौगर्भिक अध्ययनविनै बस्ती विकास भएको कुरा बताए । उनले भने- `भौगर्भिक अध्ययनविनाको बस्ती विकासले विपद् त निम्त्याएको छ नै विपद्सँगसँगै विकासलाई पनि महंगो बनाएको छ । त्यसैले भौगर्भिक अध्ययनसहितको एकीकृत बस्ती विकासको नीति बनाउन आवश्यक छ । विकासको नाममा भोटको राजनीति गरेर नेताहरूले प्रकृतिको विनाश गर्ने काम बन्द गर्नुपर्छ । पर्यावरण मैत्री दीगो विकासका लागि अब सबै नीति निर्माताहरू लाग्नुपर्छ । विपद् न्यूनीकरण गर्न प्रबिधिको अधिकतम् प्रयोग गर्दै विपद् उत्थानशील संस्कृति निर्माण गर्न रणनीतिक योजना बनाएर लाग्नुपर्छ ।´
मन्त्री श्रेष्ठले विपद् पूर्वतयारी र उद्धारका लागि तीनवटै सरकार (संघ, प्रदेश र स्थानीय) बिच राम्रो समन्वय र सहकार्य हुनुपर्ने कुरामा जोड दिँदै विपद् न्यूनीकरणका लागि चाहिने आवश्यक संरचना, दक्ष जनशक्ति, पर्याप्त इक्वीपमेन्टस, उद्धार र राहत सामाग्रीको पर्याप्त भण्डारण, प्रबिधिको अधिकतम् प्रयोग, वडा स्तरसम्म विपद् स्वयंसेवकहरू निर्माण, समुदाय स्तरमै विपद् सम्बन्धि व्यापक जनचेतना अभियान सञ्चालन, स्थानीय तहसम्म बजेटको जोहो र विपद्का लागि विशेष कानुनी व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
उनले मनसुनजन्य विपद् सुरु हुनु अघि नै प्रदेश सरकारले उच्च जोखिमयुक्त पालिकाहरूमा आन्तरिक मामिला मन्त्रालयको अनुगमनमा सिधै खर्च गर्न मिल्ने गरि स्थानीय विपद् कोषमा बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । हाल प्रदेशमा मकवानपुर, नुवाकोट र काभ्रेमा विपद् उद्धार सामाग्रीहरू भण्डारण गरिएको र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस, स्काउटलगायत विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरूसँग मिलेर विपद् न्यूनीकरण सम्बन्धि काम गरिरहेको जानकारी दिए । मन्त्री श्रेष्ठले संघ र प्रदेशले आवश्यक नीति निर्माण गर्दै पर्याप्त श्रोत साधन उपलब्ध गराउनुपर्ने र स्थानीय सरकारले विपद् रोकथाम, न्यूनीकरण, उद्धार, प्रतिकार्यका लागि नेतृत्व लिएर काम गर्नुपर्ने कुरा बताए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट र रेडक्रसले जल उद्धार संयुक्त अभ्यासका कृत्रिम प्रदर्शनी गर्नुका साथै विपद्सँग सम्वन्धित सामग्री र उपकरणकाे जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट र रेडक्रसका सबैलाई मन्त्री श्रेष्ठले धन्यवाद दिएका थिए ।साथै, जल उद्धार संयुक्त अभ्यासको कृत्रिम प्रदर्शनीमा भाग लिएका संघसंस्थाहरुलाई मन्त्री श्रेष्ठले कदर पत्र पनि प्रदान गरेका थिए ।
आन्तरिक मामिला मन्त्रालयका सचिव ध्रुव गैँडाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली सेनाका मध्य पृतनापति हाेमनाथ दवाडी, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजिपी किरण राणा, सशस्त्र प्रहरी बलका बाहिनीपति लक्षमणबहादुर सिह, मन्त्रालयका उपसचिव दीपक न्याैपानेलगायतकाे आतिथ्यता रहेकाे थियाे ।