काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे १० बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा ४ वटा प्रदेश कमिटीले पार्टीले गत फागुनबाट सुरू गरेको मिसन ग्रासरूट अभियानमा केन्द्रित रहेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निकायगत कामको प्रतिवेदन पेश गरेका थिए।
दोस्रो दिनको आजको बैठकमा बाग्मती, गण्डकी र उपत्यका विशेष कमिटीको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश, कोशी प्रदेशको प्रतिवेदन पेश भइसकेको छ। सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव छविलाल विश्वकर्माले प्रतिवेदन पेश गरेका थिए। कोशीबाट त्यस प्रदेशका इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेश गरेका थिए।
बाँकी प्रदेशको प्रतिवेदन सुनिसकेपछि ८ वटा समूह बनाएर छलफल गरिने बताइएको छ । छलफलका लागि सात वटा प्रदेशको सात समूह तय भएको छ।
त्यस्तै पेशागत र सम्पर्क समन्वय कमिटीको अलग्गै समूह तय गरेर प्रतिवेदनमाथि सदस्यलाई राय राख्न लगाइने छ।
आजकै बैठकमा सबै समूहका छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि स्थायी कमिटीको बैठक बस्ने पनि रिजालले जानकारी दिए। स्थायी कमिटी बैठकले समूहगत छलफलको राय, सुझाव र निष्कर्षको आधारमा वार्षिक कार्ययोजना तय गर्ने कार्यसूची छ। त्यो कार्ययोजना शनिबार पेस गरेपछि केन्द्रीय कमिटीको बैठक सकिने छ ।