काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र)शाहले महानगरका विभिन्न क्षेत्रमा फुटपाथ मिचेर बनाइएका प्रहरी बिट हटाउन आग्रह गरेका छन्। महानगरले यसअघि मैतीदेवीमा रहेको एउटा प्रहरी बिट डोजर लगाएर हटाएको थियो।
महानगरभित्र रहेका १९ वटा प्रहरी बिटको ठेगाना र तस्बिर सार्वजनिक गर्दै उनले ती बिट हटाउन प्रहरीलाई आग्रह गरेका छन्। अन्यथा, समतामुलक कानुनको प्रयोगको लागि पनि महानगर ती संरचना हटाउन बाध्य हुने चेतावनी दिएका छन्।
उनले फुटपाथ सँधै मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर महानगरले फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराएका छन्। मेयर शाहले यो नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि रहेको पनि उल्लेख गरेका छन्।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौं’, बालेनले भनेका छन्, ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौं।’
उनले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न राज्यका सबै निकाय तयार बन्नुपर्ने पनि उल्लेख गरेका छन्।
मेयर बालेका अनुसार काठमाडौं महानगरभित्र प्रधानमन्त्री निवास अगाडि, सामाखुशी, जडिबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी, ढल्को, ताम्सीपाखा, रुद्रमतिमार्ग मैतीदेवी, असनचोक, न्यूरोड पिपलबोट, चिकमंगल, धोबीचौर, बानेश्वर देउराली क्लब, रातोपुल, बौद्ध, ताहाचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ अगाडि र माछापोखरीमा फुटपाथमै प्रहरी बिट छन्।