काठमाडौं । मन्त्रालयहरुको भागवण्डा मिलाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह बोलाइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।
मंगलबारका बैठकमा सहमति भए बुधबारसम्ममा मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहने छ । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
मन्त्री बन्न रस्साकस्सी
कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ । कांग्रेसले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सात मन्त्री र एक राज्यमन्त्री लिने लगभग शीर्ष तहमा सहमति बनिसकेको छ ।
संस्थापन समूहबाट प्रधानमन्त्रीपछिको वरीयता लिनेगरी कांग्रेसले उपप्रधानसहितको रक्षा वा शिक्षा मन्त्रालयको जिम्मा दिएर उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने निश्चित छ । यस्तै, संस्थापन पक्षबाटै अर्थमन्त्रीमा कांग्रेस प्रवक्तासमेत रहेका डा.प्रकाशसरण महत आफूलाई पठाउनेमा ढुक्क छन् । एनपी साउद र सीता गुरुङलाई पनि सरकारमा मन्त्री बनाएर पठाउने देउवाको तयारी रहेको स्रोत बताउँछ ।
यसैगरी, संस्थापनइतर पक्षलाई दुई मन्त्रालय दिने तयारी सभापति देउवाको छ । इतर पक्षले तीन मन्त्रालय दाबी गरिरहेको छ । इतर समूहबाट उपसभापति धनराज गुरुङ मन्त्री बन्ने निश्चितजस्तै छ । यस्तै, नेता प्रदीप पौडेल पनि इतर समूहबाट मन्त्री बन्ने सम्भावना प्रवल छ ।
यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सरकारमा जाने अवस्था नदेखेपछि राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । सिंहनिकट सन्तोष चालिसे पनि मन्त्रीका लागि लबिइङमा छन् । यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको समेत कोटा छुट्याउँदा तेजुलाल चौधरी पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।
सिटौलाले भने प्रदीप पौडेललाई नै मन्त्री बनाउन चाहेका छन् । पौडेललाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समेत साथ छ ।
यस्तै, अर्का पूर्वमहामन्त्री शशांक कोइरालाले दीपक खड्का र दीपक गिरीमध्येबाट एक जनालाई मन्त्री बनाउन सभापति देउवासँग आग्रह गरिरहेका छन् । उनीहरू दुवै जनाले शशांकमार्फत देउवामाथि दबाब बढाइरहेका छन् ।
देउवा समूहबाटै उदयशमशेर राणा, मोहन बस्नेत, रामहरी खतिवडा, रमेश रिजाल, वीरबहादुर बलायर र अजय चौरसिया पनि मन्त्री बन्ने दौडमा छन् । यस्तै, इतर समूहबाट जीवन परियार, बद्री पाण्डे, संजय गौतम, डिगबहादुर लिम्बु पनि मन्त्रीका लागि दौडधुपमा छन् ।
माओवादी केन्द्रले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।
एकीकृत समाजवादीले पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव डा.बेदुराम भुसाललाई पठाउँदै छ । भुसाल हालसम्म मन्त्री भएका छैनन् । उनलाई सरकारमा पठाउने निश्चित गरेरै महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई पार्टीले गत साता दिएको हो ।
यस्तै, एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालालाई समेत मन्त्री बनाउने भएको छ । सल्यानबाट निर्वाचित ज्वाला यसअघि कर्णाली प्रदेशमा अर्थमन्त्री बनेका थिए । मन्त्रालय टुंगो नलागे पनि एकीकृत समाजवादीले मन्त्री बन्ने तीन जनाको नाम टुंगो लगाएको छ । भुसाल, ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् । जोशी राज्यमन्त्री बन्ने सम्भावना छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये तीन जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । गृह मन्त्रालय पाएको रास्वपाले यसपालि गृह मन्त्रालय नपाउने निश्चित छ । गृह माओवादीले आफैंसग राख्नेछ ।
लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले राईलाई छोडेर राजकिशोर र प्रदीपलाई नै पठाउने योजनामा रहेका छन् । यस्तै, आमजनता पार्टी (आजपा) अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ ।