April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

राष्ट्रिय झन्डा प्रयोगमा कडा मापदण्ड, कम्मरभन्दा मुनि झन्डाको प्रयोग गरे कारवाही

2.5K

काठमाडौं । राष्ट्रिय झन्डाको अपमान हुनेगरी अब कम्मरभन्दा मुनि झन्डाको प्रयोग गर्न नपाइनेगरी कानुन ल्याइने भएको छ । झन्डाको दुरुपयोग रोक्न राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोगसम्बन्धी सो कुरा उल्लेख गरिएको छ ।

यो विधेयक आइतबारको राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सो विधेयकको ११ नम्बर दफामा राष्ट्रिय झन्डाको मर्यादा सम्मानमा आँच नआउनेगरी प्रयोग गर्नुपर्ने उल्लेख छ । सो दफाको उपदफा १ मा राष्ट्रिय झन्डाको प्रयोग सम्बन्धनमा राष्ट्रिय झन्डाको मर्यादा र सम्मानमा आँच नआउनेगरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झन्डा प्रयोग गर्न र फहराउन पाउने व्यवस्था गरिएको छ । यसअघि नागरिकले घरघरमा राष्ट्रिय झन्डा फहराउन पाउँदैनथे ।

विधेयकको १३औं दफामा ‘राष्ट्रिय झन्डा प्रयोगमा निषेध’सम्बन्धी व्यवस्था छ । १३ को उपदफा ‘क’मा राष्ट्रिय झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न नहुने व्यवस्था छ । जस्तो झन्डामा रहेको चन्द्रमा तल पारेर राख्न नपाइने व्यवस्था उपदफा ‘ख’मा राखिएको छ ।

Advertisement

दफा १३ को उपदफा ‘ग’ अनुसार राष्ट्रिय झन्डा च्यात्न, जलाउन वा कुनै पनि सामान पोको पार्न पाइनेछैन । यस्तै, उपदफा ‘घ’ अनुसार व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरुपयोग गर्न पाइँदैन । यसको अर्थ अब कुनै पनि विज्ञापनमा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाउने भन्ने हो । यस्तै, चन्द्रमा तल र सूर्य माथि पारेर राष्ट्रिय झन्डा छापिए त्यो प्रयोग योग्न हुनेछैन ।

उपदफा ‘च’मा लेखिएको छ, ‘शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक वा चित्र राख्न पाइनेछैन ।’ त्यस्तै ‘छ’मा फहराउने प्रकृतिको कार्यबाहेक अन्यत्र राष्ट्रिय झन्डा प्रयोग गर्न निषेध गरिएको छ ।

विधेयकको परिच्छेद ७ मा कसुर र सजायको व्यवस्था गरिएको छ । दफा २० मा राष्ट्रिय झन्डा, राष्ट्रिय गान र मर्यादाक्रमको अपमान हुनेगरी निजी उद्देश्य प्राप्तिका लागि प्रयोग गरिए कसुर हुने उल्लेख गरिएको छ ।

यस्तै, दफा २१ मा सजायसम्बन्धी व्यवस्था छ । दफा २० अनुसार कसुर गरे प्रमुख जिल्ला अधिकारीले पहिलोपटक सम्झाइबुझाइ गर्ने र त्यति गर्दा पनि कसुर गर्न नछाडे २१ को उपदफा २ अनुसार कसुरको गम्भीरता हेरी १० हजार रुपैयाँसम्म जरिमाना गरिने उल्लेख छ । उपदफा ३ मा भने यस्ता कसुर गरेको आधारमा कसैलाई थुनामा नराखिने स्पष्ट लेखिएको छ ।