काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका वसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)कुँवरलाई प्रहरी महानिरीक्षक(आईजीपी)मा बढुवा गरेको थियो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुन । ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाएका छन् ।
समारोहमा कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए । उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प विना काम गर्ने प्रतिवद्धता जनाए ।
कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गरे । अपराध, अपराधिक प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।