काठमाडौं । “हामी सँग, हाम्रो लागि हैन” भन्ने नाराकासाथ १५ औं अन्तराष्ट्रिय डाउन सिन्ड्रोम दुईदिने गोष्ठी मङ्गलबार काठमाडौंमा सम्पन्न भएको छ ।
डाउन सिन्ड्रोम सोसाइटी नेपालद्धारा आयोजना गरिएको दुई दिनको कार्यक्रममा डाउन सिन्ड्रोम अर्थात बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र अधिकार स्थापना गर्न अझै समय लाग्ने वक्ताहरूले बताएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले भने, ‘राज्यले नेपालको संविधानमा नै अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गरेता पनि समाजले यसलाई सजिलै ग्रहण गर्नै सकेको छ्रैन ।’ यसको लागि समावेशी शिक्षा र जीविकापार्जन कार्यक्रम अझैं प्रभावकारी बनाइने पन्तको धारणा रहेको थियो ।
त्यसैगरी नेपाल अपाङ्ग महासङ्घकी उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा राज्यबाट सकारात्मक कार्य भएको तर व्यवहारमा उतार्न गाह्रो भएको गुनासो व्यक्त गरिन् । यसले गर्दा अपाङ्ग भएका व्यक्तिहरूलाइ हेर्ने दृष्टिकोण नै फरक भएको घिमिरेको भनाई रहेको थियो ।
कार्यक्रममा डाउन सिन्ड्रोम सोसाइटी नेपालकी अध्यक्ष शिला थापाले डाउन सिन्ड्रोम समाज नेपाल १७ वर्षदेखि बौद्धिक अपांग भएका व्यक्तिहरूको मानव अधिकारको लागि काम गर्दै आइरहेको र भविष्यमा यसलाई निरन्तरता दिने बताइन् । समाजमा हरेक तहतप्कामा रहेका व्यक्तिहरूको चासोको विषय बन्नुपर्ने र डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको लागि समावेशी शिक्षा र जीविका पार्जनको लागि सीपमूलक तालिमहरू दिएर बजार प्रवर्द्धन राज्यले गर्नुपर्ने बताइन् ।
कार्यक्रममा ९ जनाले अपाङ्गताको सवालमा राज्य र अन्तराष्ट्रिय क्षेत्रमा भएका व्यवस्थाको बारेमा प्रस्तुती गरेको अधिवक्ता मुकुन्द दाहालले बताएका छन् ।
कार्यक्रमको दोस्रो दिन समापनको अवसरमा डाउन सिन्ड्रोम सोसाइटी नेपालका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना पत्र पठाएका थिए ।
दिवसको अवसरमा नेपाल अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त, फिनल्याण्डका राजदूत, अस्ट्रेलियन राजदूत, अमेरिका राजदूतावासका प्रतिनिधिहरूले डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको समावेशी शिक्षा र जीविकापार्जन गराउने सन्दर्भमा नेपाल सरकारसँग हातेमालो गर्न तयार गर्दै आएको बताउँदै शुभकामना दिएका थिए ।
यसैगरी समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमताको कदर र काठमाडौ बाहिरका व्यक्तिहरूको अवस्थाबारे बझ्न सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । डाउन सिन्ड्रोम सोसाइटी नेपालले प्रदेश स्तरीय समितिहरू गठन गरेको छ ।
डाउन सिण्ड्रोम(बौद्धिक अपाङ्गता) बारेमा
संयुक्त राष्ट्रय संघले डाउन सिन्ड्रोम अर्थात बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र अधिकार स्थापना गर्ने उद्देश्यले अन्तराष्ट्रिय दिवस सुरु गरेको हो । डाउन सिन्ड्रोम अवस्था भएका बालबालिकामा साधारण अवस्था भन्दा एक क्रोमोजोम बढी अर्थात ४७ वटा हुन्छ । यो एक बढी क्रोमोजोमको थप एक सख्याले बौद्धिक अपाङ्गता सिर्जना हुन्छ । बालबालिकामा यस्तो अवस्था बुवा आमा जसको वंशबाट पनि आउन सक्छ । यसैगरी विश्व स्वास्थ्य संगठनले प्रत्येक एक हजार बच्चामध्ये एक जनामा डाउन सिन्ड्रोम हुने बताएको छ ।
यस अवस्थाका व्यक्ति संसारभरि प्रायः एकै खालको अनुहारको बनोट भएको हुन्छ । नेपालमा सन् २००६ देखि २१ मार्चका दिन ‘डाउन सिन्ड्रोम डे’ मनाईन थालिएको हो । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सख्या २.९ प्रतिशत छ भने बौद्धिक अपाङ्गता भएका व्यक्ति १.९ प्रतिशत रहेको छ