मिराज
अल्झिए हुँला कहिलेकाहीँ भिडहरूमा
बिछोडको नशाले लर्बरिएर
लडे हूँला, कैयौंपटक
रेगिस्तानी बालुवाको समुन्द्रहरूमा ।
आए यादहरू अनगिन्ती
एकान्तमा
भीडहरुमा
रातमा
दिनहरूमा
या मुटुभित्र
यी आँखाहरुभित्र
विपनामा
सपनाहरुमा…
बेहिसाब आउने तिम्रो यादहरु
कसरी सम्हालेर राखे हुँला !
कति धेरै मायाहरू पठाउँछु तिमीतिर
तर
त्यो क्षितिज पार नगर्दै
बादलभित्र बिलाईजान्छन्
मेरो मुटुका चित्कारहरु !
र, खसिदिन्छन्
यो मरुभूमिको छातीभरी
आँसु बनेर अविराम पीडाहरु
अनि…
छाम्छु, आफ्नै रित्तो काख
फर्काएर हेर्छु दुई खाली हत्केला
जहाँ देख्छु
मुस्कुराईरहेको तिम्रो प्रतिबिम्ब
बिडम्बना !
अलिकति नजिक ल्याउँदा–ल्याउँदै
बिलाईजान्छौ तिमी
अँध्यारोले छोपेको जून जस्तै ।