जब–
लेनदेन बिनाको युद्धमा होमियौ तिमी
रचिए तिम्रा बहादुरीका कथाहरू
बेचिए वफादारिताका गाथाहरू
तर कहिल्यै सोच्यौ
ती गौरव थिए कि झूटा कथा ?
‘बहादुर’ हुनुअघि
तिमी एक मुटूसहितको मान्छे हौ
तिमीसित पनि छन् मानवीय सम्वेदनाहरू
ठान्छौ अरुलाई पनि आफू जस्तै मानव
छन् संवेगहरू
तर, बनाइयो क्रुर जाति
‘वारिअर रेस’को नााममा
उठ अब !
प्रश्न गर, झूट प्रशंसाहरू माथि
तिम्रा पूर्खाहरुले अपनाएको इतिहासको बाटोबाट
भलै नसक्लाउ पछि फर्कन
तर
रोज्न सक्छौ, त्यसपछिका फरक बाटो
सुनको पिँजडाभित्र बन्धक सुगाजस्तो
एउटा प्रणालीमा
जिउन त दिएका छन् तिमीलाई
तर, बाध्य छौ
अरुको गीत गाउन
‘इट इज बेटर टु डाइ द्यान लिभिङ कावर्ड’
सेवा र वफादारिताको कसम खाँदै,
सोच्दैछौ—
के तिमी योग्य छौ ?
न्याय अझै टाढा छ
स्वीकार छैन तिम्रो मूल्य
तिम्रो बलिदानलाई पैसामा विनिमय गरिँदासम्म
तिमी हौ
फगत एक उपयोगी साधन
अब उठ !
बहादुरीको झूटो भ्रमभन्दा माथि
बाहिर निस्क दासत्वबाट
रेमिटान्स र रोयल्टीको लागि
आफ्नै देशले त्रिक्री गरेको तिमी
आफ्नै देशको गैरआवासीय नागरिक
एक भएर उठ !
तिम्रो हराएको स्थान, संस्कृति, र आवाज फिर्ता लिन
सधैं अरुकै स्वतन्त्रताको लागि लडिरह्यौ
अब आफ्नो मुक्तिको लागि बिमब
आदिवासीहरूको देश बेचे, अभिजातहरूले
तिम्रा पसिना र रगतले
बेलायती साम्राज्यको माटो सिंचे
तिम्रा संस्कृति र पहिचान नष्ट गरियो
बीज उखेलियो
आफ्नो देशको कुनै लेनदेन नभएको युद्धमा धकेलियौ
शिक्षाबाट वञ्चित
संस्कृतिबाट वञ्चित
अज्ञानतामा पु¥याइयो परदेश
मौन गराइयो
दासत्वमा अन्धाले डोर्याए
प्रतिनिधित्वबाट मेटाए
किन अझै स्वतन्त्र भएको भ्रममा बाँचौं ?
कि अब
आफ्नो पहिचान फिर्ता लिन उठ्नेछौ
आजै तोडौं
तानाशाही र अन्यायको जंजीर ।