काठमाडौं । बेलायतको विदेश मन्त्रालय (एफसीडीओ) अन्तर्गत इन्डो प्यासिफिक हेर्ने राज्यमन्त्री एन मेरी ट्रेभेलियन नेपाल आउने भएकी छन् । ट्रेभेलियन तीन दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन् ।
नेपाल–बेलायत सन्धि (सन् १९२३) सय वर्ष पुगेको अवसरमा नेपाल भ्रमण गर्न लागेकी उनी ८ मार्च बुधबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
नेपाल र बेलायतबीचको सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्ने जनाइएको छ । गोर्खा मुद्दामा जारी त्रिपक्षीय वार्ता निर्णायक चरणमा पुग्दै गर्दा हुन लागेको बेलायती विदेश राज्यमन्त्रीको नेपाल भ्रमण थप अर्थपूर्ण रहनेछ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, बेलायती लगानी रहेको अरुण तेस्रो परियोजना अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ भने धरानमा पूर्व गोर्खाहरुको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरी राज्यमन्त्री मेरी मार्च १० मा बेलायत फर्किने छिन् ।