काठमाडौं । सत्तारुढ गठबन्धनको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालयको भागवण्डामा टुंगो लागेको छ । सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएक हो ।
उच्चस्तरीय संयन्त्रको बैठकअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डाको खाकालाई बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले अन्तिम रुप दिएको हो।
सहमतिअनुसार एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति पद लिनेछ । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेको हुँदा सभामुख एमालेले पाउनेछ भने उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ ।
उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा पनि टुंगो लगाएको छ । जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३/३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।
एमालेको भागमा अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ भने माओवादीको भागमा भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन परेको छ । यस्तै, रास्वपाको भागमा गृह, शिक्षा र श्रम परेको छ भने राप्रपाको भागमा उर्जा, खानेपानी र युवा तथा खेलकुद परेको छ । यस्तै, जनमत पार्टीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । संयन्त्रको बैठकमा सहभागी जसपा अध्यक्ष यादवले पनि मन्त्रालय भागवण्डामा आफूहरुको असहमति रहेको बताए ।
यस्तै संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने प्रयास पनि भइरहेको छ । त्यसो भएमा माओवादी केन्द्रले कानुन वा वनमध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ ।
मन्त्रिपरिषद् विस्तार आज हुने जनाइएको छ । आज (मंगलबार)१ बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भइसकेको छ