काठमाडौं : हिजो नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्।
लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्। उनले आज सानो आकारको मन्त्रिपरिषद गठन गरी शपथ लिने कार्यक्रम छ । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने छन्।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनि आजै शपथ लिने कार्यक्रम छ। नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले आज दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
यस्तै सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि आजै शपथ लिनेछन्। माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनँले आज दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीसँग पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको शपथ भने भोलिमात्रै हुने भएको छ।