April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए युके: सुनिलबाबु खड्का नेतृत्वको कार्यसमितिलाई आइसीसीको अनुमोदन

1.9K

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सुनिलबाबु खड्का नेतृत्वको कार्यसमितिलाई आइसीसीले अनुमोदन गरेको छ।बुधबार कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बसेको आइसीसी बैठकले एनआरएनए यूकेमा विशेष अधिवेशनमार्फत् आएको उक्त समितिलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

बेलायतको विवादसम्बन्धमा आइसीसी अध्यक्ष कुल आचार्यले  प्रस्तुत गरेको पुनर्गठित कार्यसमितिसम्बन्धि सिफारिशलाई बैठकले अनुमोदन गरेको जनाइएको छ । एनआरएनए यूके विवादबारे अध्ययन गरी समाधानका लागि सिफारिश गर्न आइसीसीले अध्यक्ष आचार्य र बेलायतस्थित अन्य पदाधिकारीलाई जिम्मेवारी दिएको थियो।

संघको प्रतिष्ठामा आँच आउने गरी विधानविपरित गतिविधिमा संलग्न भएको भन्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरलाई आइसीसीले गत सेप्टेम्बर १३ मा पदमुक्त गरेको थियो। त्यसको एक महिनापछि अक्टोबर १८ मा लन्डनमा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष मनोनित गरेको थियो।

Advertisement

आइसीसीबाट अनुमोदन भएसँगै सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितिले नै एनआरएनएको केन्द्रीय ‘एमआइएस सिस्टम’ मार्फत सदस्यता वितरण गर्न पाउने भएको छ। 
जसअनुसार यही जनवरी ८ तारिखदेखि नै केन्द्रीय ‘एमआईएस सिस्टम’मार्फत सदस्यता आवेदन खुलाउने तयारी गरिएको छ। सोही दिन समितिले लन्डनमा एक नयाँ वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्दैछ।