-लेखनाथ सिकारु
“मेरो टोपी कैलाशको शिर जस्तो
हिमाली भीर जस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि रुक्न नमान्ने
मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो“
– गोपाल योञ्जन
नेपाली टोपीको सन्दर्भमा गोपाल योञ्जनको यो गीत नै काफी छ । हाम्रो शान ,मान र पहिचानको सवालमा । नेपाली टोपीको साइनो विश्वको अग्लो शिर नेपालमा रहेको सगरमाथा, कैलाश पर्वतसँग जोड्ने गरिन्छ । विगत १० वर्ष देखि जनवरी १ तारेखलाई नेपाली टोपीः नेपालीको शान, मान र पहिचान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको छ ।
नेपाली टोपी दिवस स्वतस्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली पहिचानमा प्रभाव परेको भन्दै केही युवाहरूले २०७० सालदेखि ‘टोपी दिवस’ मनाउन थालेका हुन् । दसौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने सम्बन्धमा सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमूलका व्यक्ति एवं सम्पूर्ण नेपालीभाषीहरूको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको नेपाली टोपी प्रतिष्ठानका उपाध्यक्ष तथा टोपी अभियानका अभियन्ता डा. लेखनाथ काफ्ले बताउछन् ।
संस्थापक अभियन्ता डा. काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट शुरु गरेको यस अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन “नेपाली टोपी प्रतिष्ठान” नामक संस्था पनि गठन भैसकेको छ । साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत श्री नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भै सकेका छन् र थप गठन हुने प्रक्रियामा रहेको बताइन्छ ।
प्रतिष्ठानले आफ्नो अवस्था अनुसार नेपाली टोपी प्रयोग गरी नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्न विशेष अपिल समेत गरेको छ ।
ढाका नेपाली हातले बुनिने एउटा विशेष प्रकारको कपडा हो र त्यसबाट बनेको टोपी नै ढाका टोपी हो जुन नेपालीको शान पनि हो ।
टोपीलाई शिरपोस पनि भनिन्छ । यस्तै ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ ।
ढाका टोपी प्राय पुरूषहरूले प्रयोग गर्छन् । प्रायः दौरा सुरुवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ । हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान हामी सबैले गर्न जरुरी छ ।
संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमालगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ । (वशन्त शर्मा नेपाल, नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ ५६४) । टोपी प्राकृत नाम शब्द शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाइ सिलाईएको पहिरनलाई टोपी भनिन्छ (नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४) । यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ । टोपलाई सम्मान र प्यारो बस्तुको रुपमा भन्दा टोपी भएको पनि हुन सक्छ ।
नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई ढाका टोपी भन्ने गरिएको मानिन्छ । ढाका टोपी नितान्त नेपाली उत्पादन मानिन्छ । केहि विश्लेषकहरुले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपी लाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि उल्लेख गरेका छन् । त्यो खोज अनुसन्धानको विषय हो ।
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एउटा सार्वजनिक पेज निर्माण गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।
त्यसपछि सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । उक्त सामाजिक संजालका संस्थापकहरु द्वय डा। लेखनाथ काफ्ले र शंकर बन्जाडे रहेका थिए । उनिहरुले नेपाली टोपी प्रतिष्ठान नामक गैर सरकारी, गैर नाफामुलक संस्था नै गठन गरेर अभियान नै चलाएका थिए । अभियानले अन्तराष्ट्रियरूपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा अभियन्ताहरुको छ ।
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो ।
शताब्दी औंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिस्तार गरी विश्वसामु चिनाउने उद्देश्यले अहिले संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ ।
‘हामीले अरुका चाड पर्व र दिवसहरु मनायौं । तर आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा नेपाली पहिचान स्थापित गर्न मनाउन थालिएको अभियन्ताहरुको भनाई छ । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्ने उनीहरुले बताएका छन् ।
टोपी नेपालीहरुको प्रतीक हो । हाम्रो ढाका र भाद्गाँउले टोपीले नेपाली हुनुको पहिचान थप बलियो बनाउन मद्यत गर्छ नेपाली टोपीले नेपालको नागरिक भनेर मात्र चिनाउँदैन । अभियानमा सकिन्छ भने साथ दिऊ नत्र विरोध भने नगरौं ।
मानव सभ्यता र संस्कृति विकासशील कुरा हो, त्यसैले त्यसमा अरूको सिको, प्रभाव वा नक्कल हुन पनि सक्छ । संसारका ८० प्रकारका टोपी देखाउने एउटा वेबसाइटले नेपाली ढाका टोपी संलग्न गरेको थियो तर नेपाली टोपीसग मिल्ने टोपी पाइन्न ।
ब्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ ईतिहाँसमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफनौ मौलिक महत्व रहेको छ ।
दिवस मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको अभियन्ता डा. काफ्ले बताउछन् ।
नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ४० वढी देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन हुनुका साथै थप गठन हुने प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।
अन्त्यमा सन् २०२३ को हार्दिक शुभकामना सहित १० औं अन्तराष्ट्रिय नेपाली टोपी दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास सहित टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी संरक्षण र प्रर्वद्धनमा सहयोग पुगोस् शुभकामना ।