न्यूयाेर्क । अमेरिकी संसदले ८५८ बिलियन डलरको रक्षा विधेयक पारित गरेको छ । जसमा अमेरिकी सेनाको तलब बढाउने, युक्रेन र ताइवानको लागि सहयोग थप्ने र अमेरिकी सेनाको कोभिड १९ खोप अनिवार्यता खारेज गर्ने लगायत छन् ।
सिनेटले बिहीबार द्विपक्षीय समर्थनको साथ विशाल राष्ट्रिय रक्षा प्राधिकरण ऐन पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भइसकेको छ । यो बिल अब राष्ट्रपति जो बाइडेनसमक्ष हस्ताक्षरको लागि जान्छ। ह्वाइट हाउसले कोभिड खोपको अनिवार्यता हटाउनुलाई गल्तीको रूपमा हेरेपनि त्यसलाई समाप्त गर्ने विधेयकमा बाइडेनले हस्ताक्षर गर्ने नगर्नेबारे केही बताएको छैन ।
यो बिलले विशेष गरी रक्षा मन्त्रालयका लागि ८१७ बिलियन डलर दिनेछ, यस वर्षको सुरुमा बाइडेनको बजेट अनुरोध भन्दा यो ४५ बिलियन बढी हो । आर्थिक वर्ष २०२३ को लागि मुद्रास्फीतिको प्रभावलाई सम्बोधन गर्न र राष्ट्रिय रक्षा रणनीतिको कार्यान्वयनलाई गति दिनको लागि बजेटमा बृद्धि गरिएको हो ।
बिलले सेनाको तलबमा ४ दशमलव ६ प्रतिशत वृद्धि गर्नेछ । यो २० वर्षमा सबैभन्दा ठूलो बृद्धि हो । बिलले सेनाका अन्य सेवा सुविधाहरु पनि बढाएको छ । सेनामा हुने आत्महत्याको मुद्दालाई सम्बोधन गर्न विधेयकले रक्षामन्त्रीलाई सैन्य पेशागत विशेषता, सेवा र ग्रेडको आधारमा आत्महत्या दरको रिपोर्ट संकलन गर्न निर्देशन दिएको छ । रक्षामन्त्रीले यसको रिपोर्ट जुन १ अगाडि संसदको समितिमा बुझाउनुपर्नेछ । पेन्टागनका अनुसार गत वर्ष करिब ५१९ अमेरिकी सैनिकले आत्महत्या गरेका थिए।
बिलले युक्रेनलाई सुरक्षा सहायता विस्तार र परिमार्जन गर्नेछ । युक्रेनलाई आर्थिक बर्ष २०२३ मा ८ सय मिलियन सहायता उपलब्ध गरानेछ । जुन गतबर्षको तुलनामा ५ सय मिलियन बढी हो ।