काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल अस्पतालको लापरबाहीका कारण एक बिारामीको मृत्यु भएको छ । अस्पतालमा उपचारारत पाँचथर थर्पुकी प्रेमकला तावाको उपचारकै क्रममा मृत्यु भएको हो ।
५९ बर्षीया तावा विगत दुई हप्तादेखि उक्त अस्पतालमा उपचारारत थिइन् । मृगौलामा समस्या भएको उनको ‘क्याथेटर’ परिवर्तन गर्ने क्रममा मृत्यु भएको मृतक परिवारका एक सदस्यले नेपाल मामिलाई जानकारी दिए । ‘यसअघि १ महिनाका लागि यहि अस्पतालमा ‘टेप्पररी डायलासिस क्याथेटर’ राखेर गएका हौं, त्यसलाई ‘रिप्लेस’ गरी ‘पर्मानेन्ट’ क्याथेटर राख्ने क्रममा अस्पतालको लापरवाहीका कारण यस्तो घटना घट्न पुग्यो ।, परिवार स्रोतले भन्यो ।
अस्पतालले रिप्लेस गर्ने क्रममा मुटु कमजोरी भएको कारण काम नगरेको र ‘पोटासियम’ बढेको कारण बताए पनि परिवारले भने त्यसका लागि कुनै टेस्ट गर्न नलगाएको बरु अन्य अनावश्यक टेस्ट गर्न लगाएको आरोप लगाएका छन् । ‘यसअघि टेप्पररी क्याथेटर राख्दा आमाको स्वास्थ्य अवस्था कमजोर थियो, तर सफल भयो । यसपटक आमाको स्वास्थ्य राम्रो थियो, डाक्टर आफैले स्वस्थ हुनुभएको छ, भन्नुभएको हो तर क्याथेटर राख्न डाक्टर असफल हुनु अस्पतालको कमजोरी हो ।’, मृतकका एक छोराले भने ।
सोमवार बिहान करिब १० बजेको समयमा घटेको यस घटनाप्रति अस्पतालले घुमाउरो तरिकाले क्षमायाचना मागेको छ । बुधबार एक पत्र जारी गर्दै अस्पतालले भनेको छ, ‘यस अस्पतालमा विगत २ हप्तादेखि उपचारारत प्रेमकला तावाको पर्मानेन्ट क्याथेटर इन्सर्जन गरी उपचार गर्दा निजको मृत्युवरण भएकोमा धुलिखेल अस्पताल प्रशासन गहिरो समवेदना प्रकट गर्दछ र उहाँको उपचार व्यावस्थापनमा अस्पतालको तर्फबाट केहि कमिकमजोरी भएको भए भविष्यमा यसप्रकारको कमजोरी नदोहो¥याउने प्रतिवद्धता जाहेर गर्दछ ।’
मृतक परिवारका अनुसार अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गर्नुका साथै धुलिखेलबाट पाँचथर थर्पुसम्मको शव वाहन खर्च निःशुल्क गरिदिएको छ । मृतकको शव आजै पाँचथर लगिदै गरेको जनाइएको छ ।