April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेस संसदीय दलको नेतामा पुस्तान्तरणको बहस : यही परिस्थितीमा सजिलो छैन

२०७९ मंसिर २३

2.9K

काठमाडौं । प्रतिनिधिसभामा ८९ सिट जितेर नेपाली कांग्रेस पहिलो पार्टाी बनेको छ । निर्वाचन आयोगले सम्पूर्ण परिणाम सार्वजनिक गरेसँगै कांग्रेसभित्र संसदीय दलको नेता छनोटको चटारो शुरु भएको छ । आकांक्षीहरुको दौडधुप बाक्लिएको छ । दलको नेता साथै प्रधानमन्त्रीमा पुस्तान्तरणको बहस पनि उसैगरी तातेको छ । यस प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्य नै सहभागी हुन पाउनेछन् ।

कांग्रेसभित्र दलको नेता बन्न सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् । रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेत ‘आकांक्षी’ देखिएका छन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीचमै हुने अवस्था बढेको छ । कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला भने यो दौडधुपबाट ‘ब्याक’ भइसकेका छन् । उनले मंगलबार सभापति देउवालाई भेटेरै सघाउने यस्तो ‘संकेत’ गरेको बताइन्छ ।

देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा.शेखर कोइराला भने ‘दलको नेता तथा आगामी प्रधानमन्त्री’ विषयमा मौन छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूनिकटका नेतामार्फत दलको नेताका लागि बालुवाटारबाटै ‘लबिङ’ गरिरहेका छन् । उनले केही शीर्षनेतालाई बालुवाटारमै बोलाएरै ‘इच्छा’ देखाएका छन् ।

Advertisement

प्रवक्ता डा.प्रकाशशरण महतलाई समेत ‘लबिङ’मा खटाइएको छ भने कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि पनि ‘देउवालाई दलको नेता बनाउन मुख खोलेरै’ अघि बढिरहेका छन् । दल नेताका लागि महामन्त्री थापाले भने ‘डोर टु डोर’ भेटघाट गरिरहेका छन् । १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका उम्मेदवार बनेका डा.शेखर कोइरालालाई भेटेरै उनले ‘दलको नेताका लागि सहयोग गर्न’ आग्रह गरेका छन् ।

उता, नेता रामचन्द्र पौडेललाई पनि थापाले भेटेरै सहयोगका लागि आग्रह गरिसकेका छन् । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलसँग समेत थापाले भेटघाट गरेका छन् । त्यस्तै, नेता चन्द्र भण्डारीसँग भेटेका थापाले उपसभापति धनराज गुरुङसँग सहयोगका लागि आग्रह गरेका छन् ।

१४औं महाधिवेशनबाट देउवा सभापति र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन् ।

कांग्रेस विधानमा ‘संसदीय दलको नेता प्रधानमन्त्री हुने’ व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै भएका कारण र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि ‘दलको नेता बन्न’ दौडधुप बढेको हो । दलको नेता आकांक्षी रहेका पौडेल तनहुँ १ र सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् ।

कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सो महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइरालाले ‘मौन बसेर देउवालाई सघाएको’ कांग्रेस वृत्तमा चर्चा छ । सिंह भने ‘पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने’ अवस्था बन्न सक्छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने ‘थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रुपमा अघि बढाउनुपर्ने’मा जोड दिँदै आएका छन् । निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका’ शर्माले ‘दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने’ सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनीहरुले पुस्तान्तरणको मुद्दा चर्काएका छन् । तर देउवा सभापति रहेकै बेला यो मुद्दा अघि बढ्ने संकेत देखिएको छैन ।

समानुपातिक सांसद छनोट भइसकेपछि ८९ जना सांसदमध्ये देउवा अंकगणितीय रुपमा बलिया देखिन्छन् । किनकी प्रत्यक्षमा जितेका देउवानिकट भनेर चिनिएका ३२ सांसद छन् । त्यस्तै, शेखर–गगन समूह भनेर चिनिएका २१ जना छन् । यस हिसाबले हेर्दा गगन कमजोर देखिन्छन् । डा.शेखर पनि गगनको पक्षमा स्पष्ट रुपमा खुलेका छैनन् ।

संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने कांग्रेस विधानको व्यवस्था छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेको अवस्थामा संसदीय दलमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुनेछ । दलको नेताका लागि ४५ सांसद आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।