भक्तपुर । नेकपा एमालेको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भक्तपुरबाट एमालेले ऐतिहासिक जित निकाल्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले कम्तिमा पनि ६० हजार मत ल्याई जीत निकाल्ने बताएका हुन् ।
बस्नेतले मुलुक निर्माणको लागि एमालेका अध्यक्ष केपी ओली जस्तो दुरदृष्टि भएको नेतालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए । नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती कार्य गर्ने गठबन्धन सरकार देश र जनताको पक्षमा नरहेको उल्लेख गर्दै उनले हिजो एमालेलाई प्रतिगमन भन्नेहरु राष्ट्रघाती रहेको तथ्य एक पछि अर्को गर्दै जनताले बुझ्दै गएको बताए । मुलुकको हित छान्ने की मुलुकको बर्वादी छान्ने भन्ने कुरा आगामी निर्वाचन रहेको उल्लेख गर्दै उनले गठबन्धनले देशलाई दिनानुदिन अधोगतिमा लान खोजेता पनि एमालेले सशक्त प्रतिवाद गरी दुर्घटनाबाट बचाइरहेको दाबी गरे ।
उनले भने, ‘आगामी निर्वाचनमा जनताले मुलुकको हित चाहने हो भने एमाले छान्नुपर्नेछ । मुलुकको बर्वादी छान्ने हो भने गठबन्धनलाई गठबन्धनलाई भोट हाल्नुपर्नेछ । त्यस्तै आम नेपाली जनताले मुलुक वर्वादी गर्ने गठबन्धनलाई हैन, एमालेलाई भोट हाल्नु अपरिहार्य बनेको छ ।’