भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको ‘होलीडे’ मनाएको आरोप लगाए । नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रुपमा स्थापीत गराएको बताए ।
बस्नेतले ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको विदा मनाइरहेको आरोप लगाए । जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि विदा गर्ने बताए । मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने दाबी गरे ।
‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा चाएको थियो । विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जता ततै लहर नै छाएको थियो । तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन । अघिल्लो कार्तिक तथा मंसिरमा जताततै विकासका कार्यहरु भएका थिए । उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो । तर यो सरकार आएसँगै चाल आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन् । विकास र मुलुकमा नै होलीडे बनेको छ । सरकारलाई विकासको त क्यान्सर नै लागेको छ । आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ । त्यस पछि एमालेको सरकार बन्ने छ । जसले विकास प्रति जनताको तिव्र चाहनालाई पुरा गर्नेछ ।’, उनले भने ।
निर्वाचनमा एमालेको प्रतिष्पर्धि कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गरे । एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै उनले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाए ।
एमाले मुलुक र जनताप्रति शतिसाल झैं उभिएको स्मरण गराउँदै उनलेगठबन्धनका दलहरुले भक्तपुरका जनतासँग भोट माग्ने नैतिक अधिकार समेत नभएको बताए । विकासको बजेट समेत कटौती गरी जनताको भाग्य र भविष्य खेलवाड गर्न खोजेको आरोप लगाउँदै नेता बस्नेतले गठबन्धन दलका उम्मेदवारले भक्तपुरका जनताको माझमा मखुण्डो लगाएरमात्र आउनसक्ने बताए । निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरी बुथमा दवाप दिएर अगाडी बढ्ने गठबन्धन दलहरुको योजना आफुहरुलाई जानकारी आएको उल्लेख गर्दै उनलेभक्तपुरमा दवाप दिएर निर्वाचनलाई विथोल्ने प्रयास गर्ने सपना नदेख्न चेतावनी दिनुभयो । गठबन्धनको दवाप पानीको फोका झैं फुट्ने उल्लेख गर्दै उनलेतेब्बर मतका साथ सानदार विजयी हुने दावी समेत गरे ।