काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।
गृह प्रशासन र रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउन हेलिकोप्टरको प्रयोग गर्न निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा जान लागेको जानकारी दिए ।
काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका वडा नम्बर २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ घाइते छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए ।
गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए ।
बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । गृहमन्त्री खाणले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीर्घ उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेहरूको यथाशीर्घ उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको र १७ जना घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।




