लण्डन् । बेलायतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । एनआरएनए यूकेका महासचिव खुशी लिम्बुका अनुसार प्रतिनिधि मण्डलले शनिवार बिहान मन्त्री खड्कालाई लण्डनस्थित नेपाली दुतावासमा भेटघाट गरेको हो ।
भेटमा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेलले संस्थाका गतिविधिका बारेमा मन्त्री खड्कालाई जानकारी दिएका थिए । उनले एनआरएनए यूकेलाई एकताबद्ध बनाएर लैजाने प्रकृया शुरु गरिएको जानकारी दिए ।
मन्त्री डा. खड्काले गैर–आवासीय नेपाली संघ सबैको साझा संस्था भएको भन्दै सबै पक्षलाई समेटर लैजान सुझाव दिए । उनले बेलायतमा रहेका भूतपूर्व गोर्खाहरुको मागलाई वार्ता मार्फत समाधान खोज्न सरकारको तर्फबाट पूर्ण रुप सहयोग रहने प्रतिबद्धता जनाए ।

भेटको क्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, गैर–आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल र लण्डनस्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतको उपस्थिति थियो ।