काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष कुल आचार्य सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन् । संविधान दिवस– २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त पदक प्रदान गरेकी हुन् ।
गत मार्च २०२२ मा एनआरएनए आइसीसीको अध्यक्षमा निर्वाचित भएका आचार्य हाल नेपालको संविधान २०७२ मा उल्लेख गरिएको गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने विषयमा खटिरहेका छन् ।
आचार्यले आफू जन्मिएको पर्वत, धाइरिङ्गमा स्वर्गीय पिताको नाममा एउटा विद्यालय स्थापना गरेका छन् । यसबाहेक बेलायत र नेपालमा थुप्रै संघसंस्था, बाल गृह तथा वृद्धाश्रमहरुलाई उनले सहयोग प्रदान गर्दै आएका छन् ।
उनले एनआरएनए युकेको अध्यक्ष हुँदा नेप्लिज नर्सिङ्ग एसोसियसनसँग मिलेर जुम्लामा एउटा बर्दिंग सेन्टर स्थापना गरेका थिए । उक्त बर्दिंग सेन्टरले प्रसुति सेवा प्रदान गरिरहेको छ । त्यस्तै उनले नवलपरासी जिल्लाको सुस्तामा रहेका विद्यालयलाई पनि आर्थिक सहयोग गरेका थिए ।
यो सम्मान व्यक्तिगत रुपमा भन्दा पनि सिंगो गैरआवासीय नेपाली समुदायलाई गरिएको सम्मानको रुपमा आफूले लिएको उनले बताए । उनले आगामी दिनमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा संसारभर रहेका नेपालीहरुको सीप, पूँजी तथा अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्न आफू अरु बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यस्तै, सामाजिक कामबाहेक नेपालमा लगानी आकर्षित गरी रोजगारी अभिवृद्धि गर्न पनि उनले काम गरिरहेका छन् । नेपालमा बैंकिङ, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरेका आचार्य गैरआवासीय नेपालीहरुले स्थापना गरेको ‘एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी’ को संचालक समिति सदस्य पनि हुन् ।
५० वर्षीय आचार्य बेलायतमा एक सफल उद्यमीका रुपमा परिचित छन् । उनको होली काउ ब्रान्डमा संचालित व्यवसायले कैयौं नेपाली तथा अन्य मुलुकका व्यक्तिहरुलाई रोजगारी दिएको छ ।