April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

भीआइपीको सवारी सर्वसाधारणका लागि सास्ती, काठमाडौंका सडकहरुमा घन्टौंसम्म सवारी जाम

1.6K

काठमाडौं । सोमबार अपरान्हदेखि काठमाडौंका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण काठमाडौंका विभिन्न सडक प्रभावित भइरहेका छन् ।

सोमबार साँझ काठमाडौंको त्रिपुरेश्वर, सुन्धरा, रत्नपार्क, जमल, पुतलीसडक, बानेश्वरलगायत क्षेत्रमा घन्टौंसम्म सवारी जाम भएको थियो । विभिन्न स्थानमा यात्रुहरुले सरकारविरोधी नारा समेत लगाएका थिए । कार्यालयको विदा हुने समय र ली को काठमाडौं आगमनको समय एउटै परेपछि सवारी चाप थेगिनसक्नु भएको थियो ।

मंगलबार दिउँसो पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुदै सोल्टी होटलसम्मको सवारी आवागमन प्रभावित भएको छ ।
दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ ।

Advertisement

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

मंगलबार दिउसो भीआइपी सवारी भन्दै सडक खाली गराएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । पैदल यात्रुलाई पनि प्रहरीले रोक लगाएपछि उनीहरुले सास्ती व्यहोरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आइपुगेका अध्यक्ष लि मंगलबार र बुधबार दिनभर शीर्षस्त नेताहरुसँग भेट्ने कार्यक्रम छ । अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष लिले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।