November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

माउण्टेन फ्लाइट सकेर भारतीय सेनाध्यक्ष पाण्डेले देउवालाई भेटे

2K

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा गत भदौ १९ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका पाण्डेले दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् ।

पाण्डे देउवालाई भेट्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए । सेनाध्यक्ष पाण्डेले मंगलबार बिहान माउण्टेन फ्लाइट गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

Advertisement

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए । साथै सेनाध्यक्ष पाण्डेले बुधबार मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।