काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा विशेष समारोहका बीच भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।