काठमाडौं । नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आव्हान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून छ । तर बन्दकर्ताले केही सवारी साधनमा तोडफोड गरेका छन् ।
बन्दको अवहेलना गरेको भन्दै बन्दकर्ताहरुले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पनि सवारी साधन तोडफोड गरेका छन् । तर यातायातका साधनहरु भने निर्वाद रुपमा चलिरहेका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार थापागाउँमा नेपाल यातायातको एउटा बसमा बन्दकर्ताले ढुंगा प्रहार गरेका छन् । त्यस्तै कोटेश्वरको भाटभटेनी नजिक मोटरसाइकलमा सवार एक व्यक्तिले माइक्रो बसमा ढुंगा प्रहार गरेका थिए ।
ढुंगा प्रहारबाट बा ३ ख ७९०६ नम्बरको माइक्रो बसको अगाडिको सिसा फुटेको छ । कोटेश्वरमै बा ४ ख ९३९४ नम्बरको बसको सिसा पनि फुटाइएको छ ।
कोटेश्वर र थापागाउँका दुबै घटनामा ठूलो क्षति नभएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बन्द गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । काठमाडौंबाट करिब डेढ दर्जन बन्दकर्ता पक्राउ परेका छन् । भक्तपुर, ललितपुर र काठमाडौंमा बन्दको प्रभाव देखिएको छैन ।