April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

चाटुवादः नेपाली साहित्यको नयाँ सिद्धान्त, आयोजकलाई आफ्नो कट्टु फुस्केको हेक्का नै हुन्न

10K

जनक कार्की

नेपाली साहित्यमा पछिल्लोपटक भित्रिएको वाद र आन्दोलन भनेको चाटुवाद हो । हुन त यसको जन्म नेपाली साहित्यको जन्मसँगै भएको अनुमान लगाउन सकिएपनि यो वयस्क भएको भने यहि समयमा हो, हाम्रै समयमा हो । चाटुको शाब्दिक अर्थ खोज्ने हो भने, चापलुसी, मिथ्या प्रशंसा, फुस्ल्याइँ, खुसामद, चिप्लो घसाई भने नेपाली शब्दकोषमा लेखिएको छ । यस्ता महान गुण बोकेको चाटुलाई वादको रुपमा रुपान्तरण गर्न कथित साहित्यिक तत्वदर्शीले निश्चित गरेको विशिष्ट कुराको सिद्धान्तलाई स्थापना गर्न सहयोग गरेको देखिन्छ । चाट्नु एउटा यस्तो क्रिया हो जसले क्षणिक आनन्द तुरुन्तै दिन्छ । कुनै कुकुरले मालिकको पसिना चाट्नु, कुनै बालकले ललिपप चाट्नु अथवा कुनै जोडीले एकार्कालाई चाट्नुको उद्धेश्य आन्नद नै हो । तर, यो साहित्यिक चटाई भनेको प्रतिष्ठा, मोह, लोभ, प्राप्तिको लागि नै हो । चाटेपछि मेहनत नगरिकन कुनै पनि कुरा सजिलै पाउन सकिने भएकोले चाट्नु आजको साहित्यकारको दैनिकी भएको छ । प्रायः साहित्यकारहरू चाट्नमा व्यस्त भएको यो कुरुप समय हो । यहाँ पुरस्कार, मञ्च, सम्मान, अभिनन्दन आदि चाट्ने जमात डल्लै छ ।

नेपाली साहित्यको विकासक्रममा धेरै आन्दोलन भएका छन् । हलन्त वहिष्कार आन्दोलन (वि.स १९६५), जयतु संस्कृतम् आन्दोलन (वि.सं २००४), प्रगतिवादी साहित्यिक आन्दोल (वि. स २००७), आयामेली आन्दोलन (वि.सं. २०२०२,२०२१), बुट पलिस आन्दोलन (वि.सं. २०२६), लीलालेखन आन्दोलन(वि.सं. २०३४), भोक कविता आन्दोलन (वि.सं. २०३९), संरक्षण कविता आन्दोलन (वि.सं. २०५३), सृजनशील अराजकता आन्दोलन (वि.सं. २०५६) आदि नेपालका प्रमुख साहित्यिक आन्दोलन हुन् ।

Advertisement

यसैगरी अन्य आन्दोलनको कुरा गर्नुपर्दा झर्रोवादी आन्दोलन (वि.सं. २०१३), अमलेख साहित्य आन्दोलन (वि.सं. २०२६), शून्यवाद (वि.सं. २०४०), तरलवाद (वि.सं. २०४०), एक लाइन कविता आन्दोलन (वि.सं. २०४३), वादरहित साहित्यिक आन्दोलन (वि.सं.२०५५), लोकतान्त्रिक गणतन्त्रवादी साहित्यिक आन्दोलन (वि.सं. २०५७), गणतान्त्रिक कविता आन्दोलन (वि.सं. २०६१), विलयन लेखन (वि.सं. २०६२), नेपाली भाषा बचाउ आन्दोलन (वि.सं. २०६२), लोकतान्त्रिक साहित्यिक आन्दोलन (वि.सं. २०६२), रहस्यमय काव्यिक खोज आन्दोलन (वि.सं. २०६३), फाँसीवादविरुद्ध साहित्यिक आन्दोलन (वि.सं.२०६३), गणतान्त्रिक सांस्कृतिक आन्दोलन (वि.सं. २०६३) मिश्रणवाद (वि.सं. २०६५) लगायतका विभिन्न आन्दोलन नेपाली साहित्यमा भए ।

यी सबै आन्दोलनले नेपाली साहित्यमा धेरथोर तरंग पनि ल्याएकै हो । पछिल्लो दशक नेपालमा विकास भएको नयाँ वाद र आन्दोलन भनेको चाटुवाद आन्दोल नै हो । यो वाद र आन्दोलन भाइरस जस्तो साहित्यकारको मनमस्तिष्कमा जरा गाडेर बसेको छ । प्राय साहित्यिक संस्था र साहित्यकारले यसलाई सजिलै अँगालेको देखिन्छ । शर्टकट बाटोको खोजिमा निक्लिएका साहित्यिक यौद्धाहरू चाटुवादको गुलियो महमा फसेका छन् ।

नेपाली साहित्यिक पुरस्कारमा चाटुवाद

नेपाली साहित्यमा सबैभन्दा बढी चाटुवाद सिद्धान्त प्रयोग हुने ठाउँ पुरस्कार हो । नेपालमा साहित्य, संगीत र कला क्षेत्रका लागि भनेर १२ सयभन्दा बढी पुरस्कार स्थापना भएका छन् । तीमध्ये नियमित बाँडिने पुरस्कारको संख्या पाँच सयजति छ ।नियमितरूपमा बाँडिने यी पुरस्कारको राशि साढे ३ करोड रुपैयाँ हुन आउँछ । अनियमित भएका पुरस्कारको राशिसमेत जोड्ने हो भने रकम अझै बढ्छ । यति धेरै पुरस्कार र यति धेरै रकम वितरण गरिए पनि नेपाली साहित्य बजारमा कोही पनि खुसी भने देखिँदैनन् । ती पुरस्कारमध्ये ९८ प्रतिशत ‘लेनदेन’का लागि स्थापित भएको र वास्तविक सर्जकको हातमा कमै पर्ने गरेकाले पनि पुरस्कारको प्रतिष्ठा नजोगिएको कतिपयको धारणा छ । चाटुवादको भाइरसबाट नेपाली साहित्य ग्रसित छ भन्न सक्ने अवस्था छ ।

नेपालको सबैभन्दा मोटो साहित्यिक पुरस्कार भनेको मदन पुरस्कार हो । वि.सं. २०१२ सालमा स्थापना भएको यो पुरस्कारको उमेर पाको मानिन्छ । मदन पुरस्कार मोटे भएपनि स्वस्थ छ भन्नेमा भने शंका उत्पन्न भइरहन्छ । मोटे मदन पुरस्कारलाई आफ्नो मोटोपनले नै रोग लगाइरहेको छ ।

चाटेपछि मेहनत नगरिकन कुनै पनि कुरा सजिलै पाउन सकिने भएकोले चाट्नु आजको साहित्यकारको दैनिकी भएको छ । प्रायः साहित्यकारहरू चाट्नमा व्यस्त भएको यो कुरुप समय हो । यहाँ पुरस्कार, मञ्च, सम्मान, अभिनन्दन आदि चाट्ने जमात डल्लै छ ।

मदन पुरस्कार गुठीलाई आधा शताब्दीदेखि हाक्ने ‘वान म्यान आर्मी’–हुन् कमलमणि दिक्षित । उनलाई मदन शमशेर र जगदम्बाको सम्पत्ति चलखेल गरेर यो सम्राज्य खडा गरेको आरोप पनि लाग्ने गरेको छ । वि.सं. २०६६ सालको मदन पुरस्कारमा ‘प्रेतकल्प’ जस्तो उत्कृष्ट उपन्यासलाई पन्छाएर युवराज नयाँघरेको पुस्तक ‘एक हातको ताली’ लाई मदन पुरस्कार दिइएको कारणमा थुप्रै साहित्यिक जानकारहरू भनसुन वा भनौं चाटुवादको सिद्धान्त प्रयोग नगरेकाले यसो भयो भन्छन् ।

मदन पुरस्कार गुठीले दिएको ऐना, खुसी, पल्पसा क्याफे, दमिनी भीर, खलंगामा हमला, राधा, एक हातको ताली, छापामारको छोराले मदन पुरस्कार पाउँदा निकै विवाद भएको थियो ।

मदन पुरस्कारको तुलनामा पद्मश्री पुरस्कार चाटुवादको सिद्धान्तभित्र अलि कम परेको पाइन्छ । पद्मश्रीलाई पूर्वका श्रष्टाप्रति बढी नै नरम भएको आरोप लाग्ने गरेको छ । पुरस्कृत कृतिकै बारेमा भने विवाद आएको छैन । यसको कारण कान्छो पुरस्कार हुनु र मदन पुरस्कार पाउने आश गरिएको पुस्तकलाई पद्मश्री दिइनु पनि हुनसक्छ ।

‘राधा’ उपन्यासले मदन पुरस्कार पाउनुको कारण काँग्रेसँग चाटुवादको सिद्धान्त प्रयोग गरेको हल्ला नेपाली साहित्य बजारमा सुनियो । राधाका लेखक कृष्ण धरावासी भने ‘नचाहिने हल्ला’ भनेर पन्छिएका छन् ।

लेखक खगेन्द्र संग्रौला पनि पुरस्कारविरोधी सूचीमा पर्छन् । उनले प्रज्ञा प्रतिष्ठानबाट वितरण हुने पुरस्कार पाएपछि नरम भएको साहित्यकार डिल्लीराम मिश्रको आरोप छ ।

कस्तो पुस्तक निकाल्यो भने पुरस्कार पाइन्छ ? भन्ने मात्र हैन, कुन प्रकाशन गृहबाट निकाल्दा पुरस्कारको बलियो दाबेदार बनिन्छ भन्ने खेल पनि चल्ने गरेको हल्ला सुनिन्छ । त्यसका लागि लेखकहरु रातारात प्रकाशन गृह फेर्नसमेत छाड्दैनन् ।

चाटुवादको हात यहाँसम्म पुगेको छ कि, पुरस्कार लेनदेन गरेर एकार्कालाई चाट्ने काम पनि टन्नै भएका छन् । नेपाली पुरस्कारको इतिहास’ पुस्तकका लेखक डिल्लीराम शर्मा भन्छन्, ‘पुरस्कारमा धेरै विकृति छ । आफैँ बनाउने, आफ्नैलाई दिने चलन छ ।’

साझा पुरस्कारमा पनि चाटुवाद राजनीतिक रङको समस्या देखिन्छ । २०६१ को साझा पुरस्कार विमल निभाले पाए । पुरस्कारको बलियो दाबेदार गोविन्द वर्तमानको कृति ‘सोह्र साँझ’ थियो । त्यति बेला साझामा बामपन्थी निकट प्रमुख रहेकाले गोठालेको कृति पन्छ्याइएको बताइन्छ । २०६५ सालको मदन पुरस्कार युवाराज नयाँघरेको ‘एक हातको ताली’ले पायो । यो कृतिले उक्त पुरस्कार पाएपछि साहित्यकारमाझ हल्लीखल्ली मच्चियो ।

उक्त पुस्तकको भूमिका कृष्णचन्द्रसिंह प्रधानले लेखेका थिए । उनै प्रधानको दबाबमा कमलमणि दीक्षितले मदन पुरस्कार दिएको चर्चा चलेको थियो । त्यो बेलामा नारायण ढकालको कृति ‘कल्पवृक्ष’को निकै चर्चा थियो । ढकालले चन्द्र शमसेरलाई गाली गरेर लेखेको भएर दीक्षित परिवारले नरुचाएको अहिले पनि दाबी गरिन्छ ।

चाटुवादको सिद्धान्त प्रयोग गर्दा कट्टु फुस्केको समेत आयोजक संस्थाले हेक्का राख्न भ्याएका हुन्नन् । केही पुस्तक छापिनुअगाडि नै पुरस्कृत हुने गरेको छ । २०६७ सालको साझा पुरस्कार मापदण्डअनुसार क्षेत्रप्रताप अधिकारीको पुस्तक ‘नफुलेका फूलहरु’ले पाउनुपर्ने थियो । तर त्यो वर्ष प्रकाशनमा नआएको पुरुषोत्तम सुवेदीको संक्रमणकालीन साहित्यले पुरस्कार पायो । जो प्रकाशितै भएको थिएन । पत्रकार नारायण वाग्लेको कृति ‘पल्पसा क्याफे’ले प्रकाशित हुनुअगाडि नै मदन पुरस्कार पाएको थियो । यसबारे जिज्ञासा राख्दा वाग्लेले भने, ‘त्यो त पुरस्कार समितिले निर्णय गरेर दिने हो हामीलाई के थाहा हुन्छ र ?’

चाटुवादमै यस्ता लज्जास्पद घट्ना पनि घटेका छन कि २०७२ चैत १४ मा प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव आयोजना ग¥यो तर सर्वोत्कृष्ट कविताको पुरस्कार घोषणा भने १० चैतमा भयो । सार्वजनिक रुपमा वाचन नै नभएको कवितालाई कसरी प्रज्ञा प्रतिष्ठानले पहिल्यै सर्वोत्कृष्ट भनी पुरस्कार दिने निर्णय ग¥यो ? यसको उत्तर प्रज्ञा परिषद्का कसैसँग पनि जवाफ थिएन, न त काव्य तर्फका प्रमुख अमर गिरीसँगै थियो ।

आजभोली पुरस्कार पनि एक किसिमको फेसन बनेको छ । टोलटोलमा मातापितादेखि आफन्तको नाममा पुरस्कार खडा गरिएको छ । पुरस्कार दिने मापदण्ड भने चाटुवाद नै रहेको छ प्रायः । (यहाँ प्रयोग गरिएका प्रायः तथ्य र जानकारी प्रजु पन्तले शुक्रवारका लागि लेखेको साहित्य पुरस्कारको दलाली लेखमा आधारित हो)

चाटुवादमा साहित्य महोत्सव

नेपालमा हुर्कदै गइरहेको पठन संस्कृतिलाई टेवा दिन साहित्य महोत्सवको हात पक्कै पनि प्रशंसनीय छ । उद्धेश्य असल भएपनि जब यस्ता महोत्सवमा इमानदारीताको अभाव देखिन्छ, अझै भनौं चाटुवादको सिद्धान्त प्रयोग हुन थाल्छ, यसले आफ्नो गरिमा घटाउँदै जाने कुरामा दुई मत छैन । देशकै सिंह साहित्य महोत्सवको उपमा नेपाल साहित्य महोत्सवले समातेर बसेको छ । सन् २०११ बाट सुरु गरिएको यो महोत्सवले छुट्टै स्थान बनाउन सफल छ । अहिले आएर यस महोत्सवले पनि चाटुवादलाई अत्यधिक आत्मसात गरेको देखिन्छ । यो महोत्सवमा लगानी टन्नै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागी हुने भएकोले यसलाई आर्थिक प्रायोजन जुटाउन पर्ने समस्या भएकै कारण ठूला व्यापरिक घरानालाई लिएर हिँडन पर्दा कतिपय ठाउँमा उनीहरूको खोक्रो गुनगान गाउन पर्ने बाध्यताबाट यो साहित्य महोत्सव गुज्रिएको छ । नेपाल साहित्य महोत्सवलाई प्रायोजन गरिरहेको आइएमईका चन्द्र ढकाललाई समुदायले वर्षौ लगाएर हुर्काएको चन्द्रागिरी डाँडाको सामुदायिक वन, कबुलियत वनकै शुल्क तिर्ने सुविधामा हडपेर करोडौँको व्यापार गरिरहेको आरोप पनि लागेको छ । यस्ता आरोप खेपिरहेका व्यक्तिको प्रायोजनमा भएको महोत्सवमा बसेर अरनिको पाण्डे लगायतका वैज्ञानिकले वातावरण परिवर्तन बारेको बहस गर्नु कति सान्दर्भिक हुन्छ भनेर सावित्री गौतमले आफ्नो ब्लगमा गंभिर प्रश्न पनि उठाएकी छिन् । महोत्सवले खेपिरहेको प्रमुख आरोप भनेको सधैं उहीँ पुराना र नजिकका अनुहार दोहोरिनु पनि हो ।

सावित्री गौतमको अर्को एउटा गम्भीर प्रश्न–‘आलोचनात्मक चेत, एथिक्सको अर्थात नैतिकताको बारेमा ७० नाघुन्जेल बोल्न नछोड्ने खगेन्द्र संग्रौला यस्ता कार्यक्रम र प्रायोजकको एथिक्स बारेमा कति बोल्छन् ? सिके लाल कति बोल्छन् ? आहुति कति बोल्छन् ? कहाँ छ उनीहरूको आलोचनात्मक चेत ? उनीहरुलाई केही थाहै छैन भन्ने कि उनीहरुको जीवनभरको योगदान बनावटी थियो भन्ने ? वा “दाजु“हरुको लागि यस्ता कार्यक्रम रिटायर्ड जिन्दगीको एक्लोपन बिर्साउने, युवाहरुसँग बोलचाल हुने, दाजु–दाजु गरेर वरिपरि घुम्ने व्यक्तिहरु देखेर मख्ख पर्ने, काठमान्डु खाल्डोबाट बाहिर निस्केर “मुड ताजा गर्ने” बहाना मात्र हुन् वा भनेर बुझ्ने कि उनीहरु त्योभन्दा बढी पनि हुन् भनेर उनीहरुले हामीलाई थाहा दिनुपर्ने ? दुनियाभरका विषयमाथि प्रश्न उठाउने ठेक्का लिएको जस्तो गरेका दाजुहरु, दिदीहरु, हामी, भाइहरु, बहिनीहरु लगायतका हामी यस्ता कार्यक्रम, यसका प्रायोजक र उनीहरुको प्रायोजन स्वीकारेर उनीहरुले गरेको वातावरण विनास , भ्याट छली आदिमा समर्थन नै गरिरहेका छौँ भनेर आफूलाई कति प्रश्न गर्छौ ? सरक्क कार्यक्रममा गएर आईएमइले दिएको कपमा घरमा मज्जाले चिया खाएर हामीले चन्द्रागिरी विनासबारे बोल्न सुहाउँछ कि सुहाउँदैन ?’

अहिले नेपाल साहित्य महोत्सवको सिको गरेर देशभर विभिन्न महोत्सव आयोजना हुन थालेका छन् । स्थानीय तहमा पनि नगरपालिकाको सहकार्यमा यस्ता कार्यक्रम हुने अवसर पाएका छन् । मोफसलमा महोत्सव सक्रिय रुपमा गर्ने सूचिमा रोल्पा, दाङ, धनगढी, मकवानपुर, झापा, जनकपुर आदि पनि देखिएको छ । यस्ता साहित्य महोत्सवमा वक्ताका रुपमा भने स्थानीय भन्दा उहीँ केन्द्रकै विद्धानलाई बारम्बर हावाइजाहजबाट उडाएर ल्याइन्छ । स्थानीय स्तरमा भएको साहित्य महोत्सवमा स्थानीय साहित्य र मुद्धालाई उठाउन चुकेको देखिन्छ ।

साहित्य महोत्सवलाई लाग्ने गरेको अर्को आरोप भनेको समावेशीता नहुनु भन्ने पनि छ । रोल्पाको सुनिल स्मृति साहित्य महोत्सवमा जब पहिलोपटक ब्यानर सार्वजनिक भयो, त्यसलाई भाले साहित्य सम्मेलन भनेर खिसिटियुरी गरियो । चर्को आलोचनापछि सुनिल स्मृति साहित्य महोत्सवका केही विषयहरू र वक्ता थपघट गरेर समावेशी गराउने कोसिस गरियो । आयोजकले महिला वक्तालाई कार्यक्रममा बोलाउँदा जहाजको टिकट भए आउने कुरा बताएपछि आयोजकले बजेटले नभ्याउने भएकोले सो कुरा स्वीकार गर्न नसकिने जानकारी दिएर पन्छिन खोज्यो । तर, कुरा महिला सहभागीताको मात्र भन्दा पनि रोल्पाको महोत्सवले त्यहाँको स्थानीय मुद्धामा भन्दा बढी केन्द्रीय मुद्धामै केन्द्रीकृत भएको पनि देखियो । यस्ता महोत्सव गर्दा आयोजकले पूर्वतयारी राम्रोसँग गरेको देखिन्न । चर्चा बटुल्न कार्यक्रम गरे जस्तो देखिएकाले पनि महोत्सव आरोपित हुँदै गएको छ ।

धनगढी साहित्य महोत्सवलाई पार्टी केन्द्रित भयो भन्ने आरोप लागेको छ । नजिकका श्रष्टाको अवमूल्यन गरेर पार्टीका भरौटेलाई सहभागी बनाएर चाटुवादको सिद्धान्त भरपूर प्रयोग गरेको देखिन्छ ।

कैलालीको धनगढीमा पछिल्लोपटक भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बन्यो । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको सो महोत्सवलाई ७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरे । उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका थिए ।

नेपाल साहित्य महोत्सवका आयोजक मध्येका एक प्रकाशकले भारतको जयपुर साहित्य महोत्सवमा आफ्नै दुईजना लेखकलाई सहभागी गराएर अर्को चाटुवादको द्रष्टव्य व्यक्त प्रस्तुत गरे ।

‘साहित्यको यस्तो कार्यक्रम भइरहदा सुदूरपश्चिमका साहित्यकार तथा लेखकलाई थाहा समेत नदिइनुले हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको थियो, ‘राष्ट्रिय स्तरमा स्थापित हुँदै गरेका धेरै लेखक, कवि र गजलकारहरुलाई वाइपास गरेर कुनै सल्लाह, कुनै खबर बिना केही झुण्ड र आसेपासेलाई जम्म पारेर कार्यक्रम भइरहेको रहेछ ।’

यस्तै अछाम गजल मञ्चले पनि महोत्सव बहिष्कार गरेको थियो । मञ्चका अध्यक्ष जीवन सरोवरले विज्ञप्ती जारी गर्दै भनेका थिए, ‘सुदूरपश्चिमका स्थानीय तह र प्रदेश सरकारको आर्थिक सहयोगबाट आयोजना भएको साहित्य महोत्सवमा अछामका गजलकारलाई गरिएको उपेक्षाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो साहित्य महोत्सवलाई सामूहिक रुपमा बहिष्कार गर्दछौं ।’

यस्तै केही साहित्यिक सम्मेलन तथा पुरस्कार व्यक्तिगत तवरबाट पनि गरेको देखिन्छ । राज्य तथा कुनै पनि संघसंस्थाको सहयोगविना गरिएका यस्ता कार्यक्रम निस्वार्थ भावले गरिएको जस्तो देखिएपनि विवादरहित भने देखिदैन । आफ्ना सर्कलका साहित्यिक व्यक्तित्वलाई जम्मा गरेर त्यहीँ सर्कलका साहित्यकारलाई पुरस्कार बाड्ने प्रचलन पुरानो होइन । शक्ति र पहिचानको भोकबाट ग्रसित यस्ता कार्यक्रमले व्यक्तिगत हित मात्र गरेको देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैंडा जस्तै बन्न खोज्ने साहित्यकार थुप्रै भेटिन्छन् । आफू दुर्लभ गैंडा बनेर सबैको ध्यान आफूतिर खिच्न खोजेको कार्यक्रमको शैली र नजिकका पाहुना मात्र आमन्त्रित हुनुले देखाउँछ । राष्ट्रिय पुरस्कार भनेर कहिले नामै नसुनेका कृतिले पुरस्कार जितेको देख्दा चाटुवादकले धेरै चाटुवाद सिद्धान्तका पुस्तक पढेको देखिन्छ । पुरस्कारको मनोनयन सार्वजनिक गर्दा आफ्नै नजिक मानिएका सेनाले विरोध गरेको देखेपछि यो चाटुवाद फस्टाइरहेको कुरा अनुमान लगाउन झन् सहज हुन्छ । विरोध गर्नेहरू पनि अरुका लागि भन्दा आफ्नै कृति नपरेपछि मात्र विरोध गर्नाले उनीहरूको नैतिकतामा पनि प्रश्न त उठ्छ नै ।

नेपाल साहित्य महोत्सवका आयोजक मध्येका एक प्रकाशकले भारतको जयपुर साहित्य महोत्सवमा आफ्नै दुईजना लेखकलाई सहभागी गराएर अर्को चाटुवादको द्रष्टव्य व्यक्त प्रस्तुत गरे ।

नेपाली कविता र अनुवादमा उल्लेखनीय योगदान पु¥याइरहेका एकजना कविलाई साउथ एसिएन साहित्य महोत्सवले सम्झिरहन्छ । तर, उनी आफ्नै पकेटमा बसेका सर्जकलाई पाहुना बनाएर लाने भन्दा ठूलो योगदान गर्न सकेका छैनन् । यस्तो चाटुवादको प्रवृत्तिले गर्दा उनको योगदान पनि धमिलो हुँदै जानु स्वभाविक नै हो ।

नेपाली साहित्यको हित,संरक्षण र संवर्द्धनको लागि भनेर जन्मिएको प्रज्ञा प्रतिष्ठानको त झन् के कुरा गर्नु ! प्राज्ञ बन्नको लागि राजनीति छाता ओढ्ने साहित्यकार लामवद्ध छन् । प्रज्ञाले गरेको हरेक कार्यक्रम शंकास्पद र विवादीत बन्ने गरेका छन् । कविता प्रतियोगितादेखि पुस्तक प्रकाशन गर्ने सबै योजना चाटुवादबाट प्रभावित छन् । प्रज्ञा भनेको हात्तीको देखाउने दाँतभन्दा बढी केही बन्न सकेको छैन ।

सामाजिक सञ्जालमा चाटुवाद

समाजिक सञ्जालमा गुटबन्दी धेरै हुन्छ । पार्टीको गुट, वादको गुट, सिद्धान्तको गुट, जातिको गुट आदि गुटैगुटको चाटुवाद छर्लङ्ग देख्न सकिन्छ । आफ्ना गुटका औसत सिर्जनालाई अब्बल बनाउन गुट लागिपर्छ । गुट बाहिरका राम्रा सिर्जनालाई पनि वेवास्ता गरिएको देखिन्छ । गुटले विभिन्न ग्रुप बनाएर लेखिएको मौलिक सिर्जनालाई विभिन्न व्यक्तिद्वारा पुनर्लेखन र संशोधन गरेर बाहिर ल्याउने समाजिक ग्रुप पनि छन् । सामाजिक सञ्जालमा हुने चाटुवादले पक्कै नेपाली साहित्यको हितभन्दा अहित नै गर्दै छ ।

विश्वभरमै साहित्यको अवस्थालाई अध्ययन गर्ने हो भने यसको अवस्था चिन्ताजनक छ । मानिससँग आफूलाई भुलाउने धेरै माध्यम यो डिजिटल दुनियाँमा उपलब्ध छन् । यस्तो अवस्थामा पनि केही प्रतिशत मान्छे साहित्यमा लगाव राखेर अगाडि बढिरहनुले साहित्य जीवित बनाउन सकिन्छ भन्ने संकेत मिल्नु हो । तर, यस्तो नाजुक अवस्थामा पुगेको साहित्यिक क्षेत्रलाई पनि चाटुवादले घेर्दै गयो भने साहित्यको अवस्था कति टिठलाग्दो होला ? यसमा सबैले ध्यान पु¥याउन जरुरी देखिन्छ । हरेक साहित्यकार इमानदार, नैतिकवान, सत्यवादी र मानवतावादी हुन सकेन भने त्यो साहित्यमा प्राण हुँदैन । आउनोस् सबैले एउटा प्रतीज्ञा गरौँ चाटुवादलाई अन्त्य गरौँ ।