April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

निर्वाचनको मुखमा वाईसीएललाई सक्रिय बनाउनुको अर्थ के ?

1.7K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचनमा योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय हुन निर्देशन दिएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा जस्तो सक्रियतापूर्वक परिचालन हुन दाहालले निर्देशन दिएका हुन् । तर उनको निर्देशनलाई निकै गम्भीरतापूर्वक हेरिएको छ ।

वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । उनले देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन एक ढिक्का भएर लाग्न निर्देशन पनि दिए ।

Advertisement

पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरुले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् । प्रतिक्रियावादी जाली फटाहाहरुबाट जनतालाई सुरक्षित गराउने वाईसीएल नेपालको भूमिका दुरगामी र महत्वपूर्ण रहेको दाहालको भनाइ थियो ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि वाईसीएलले ‘अर्धसैनिक दस्ता’ का रुपमा सक्रिय थियो भने कतिपय हिंसा र हत्यामा वाईसीएल नेताहरुको नामसमेत जोडिएको थियो। २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो दल थियो। उक्त निर्वाचनमा वाइसीएल परिचालन गरेर अधिकांश स्थानमा बुथ कब्जा गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।

हिंसा मच्चाएर र डर, त्रास देखाएर चुनाव जितेको आरोप वाइसीएलमाथि लाग्ने गरेको छ। त्यसैले मंसिर ४ को निर्वाचन आउन सय दिन बाँकी रहेका बेला अध्यक्ष दाहालको निर्देशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।