-१५ सय मोटरसाइक र १३ सय बढी गाडीको माग
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संयत्रबारे छलफल शुरु भएको छ । निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको संख्या पनि बढाउनेगरी कार्य योजना तयारी भइरहेको छ । अबको सय दिनभित्र निर्वाचनको सम्पूर्ण तयारी पूरा गर्नुपर्ने भएकाले सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त राख्न दबाब पनि बढेको छ ।
निर्वाचन आयोग र गृह मन्त्रालय दुवैले सुरक्षा अंगसँग निर्वाचन सुरक्षा योजना पनि माग गरिसकेका छन् । निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न गृह मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई निर्देशन दिएको भोलिपल्टै बिहीबार निर्वाचन आयोगले पनि सुरक्षा अंगसँग निर्वाचन सुरक्षा योजना मागेको छ ।
गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ । आयोगले पनि एकै चरणमा निर्वाचन गर्दा सुरक्षा चुनौती थपिएकाले व्यवस्थित र भरपर्दो सुरक्षा योजना पेश गर्न निर्देशन दिएको छ ।
नेपाल प्रहरीमा एआईजी सहकुल थापा र सशस्त्र प्रहरीमा एआईजी सीपी गौतमको संयोजकत्वमा निर्वाचन सेल गठन भइसकेको छ । साथै नेपाल प्रहरीले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७ सय ५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरिसकेको छ ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको विवरणअनुसार अहिले प्रहरीलाई १ हजार ५९८ मोटरसाइकल माग गरेको छ । सानो सवारीसाधन मात्रै १३ सय ८४ अपुग रहेको जनाएको छ ।
प्रहरीले ७५३ स्थानीय तहमा पठाएको सहित १५ सय २९ सानो र १ सय ५४ ठूला सवारीसाधन रहेकोमा भौलोलिक विकटताको कारण तत्काललाई ७ सय ५१ वटा सवारी साधान अपुग रहेको भन्दै किन्न प्रस्ताव गरेको हो ।
यसका साथै प्रहरीले हातहतियार र सञ्चार सेट पनि अपुग रहेको विवरण गृह मन्त्रालयमा पठाएको छ । भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले पनि आफ्नो तयारी तीव्र पारेको जनाएको छ ।
नेपाल प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृह मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यो संख्या गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचको भन्दा २१ हजारले बढी हो । त्यसबेला ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।